News 24 Television
ओली–देउवाको भित्री डिजाई बन्दै, अन्य पार्टीका लागि खतरा !

काठमाडौं । एमाले–कांग्रेसको सत्ता सहकार्यसँगै दुई दलीय व्यवस्थामा जानुपर्ने आवाज एमालेभित्र व्यापक बनिरहेको छ । 

एमाले महासचिव शंकर पोखरेलले दुई दलीय व्यवस्थामा नगए मुलुकले स्थिरता नपाउने दाबी गरिरहेका छन् भने, धेरैले एमाले–कांग्रेसले लोकतन्त्रलाई समाप्त पार्न खोजेको अर्थमा लिइरहेका छन् । के हो त एमालेले चाहेको स्थिर राजनीतिक प्रणाली ? 

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले आन्तरिक राजनीतिलाई एकलौटी बनाउने प्रयासपछि दुई दलीय व्यवस्थाको वकालत गरिरहेको छ । राजनीतिक स्थिरताको प्रश्नलाई लिएर एमाले महासचिव शंकर पोखरेलले दुई दलीय प्रतिष्पर्धा वा बलिया दुई पार्टीबीचको प्रतिष्पर्धालाई स्थापित नगराए राजनीतिक स्थिरता कायम हुन नसक्ने दाबी गरिरहेका छन् । 

यस्तोमा साना दलहरुले प्रतिवाद गर्ने भन्दै एमालेको कदमप्रति प्रतिगमनको गन्ध आएको आरोप लगाइरहेका छन् । तर, एमाले महासचिव पोखरेलले भने जस्तै के सहजै यस्तो हुने सम्भावना छ त ? पक्कै पनि नेपालको संविधान, कानून र राजनीतिक अभ्यासले पनि यस्तो सम्भव तत्काल हुने स्थिति नदेखिएपनि उनीहरुको अभ्यास त्यसतर्फ लागेको देखिन्छ । 

एमालेको चाहना के ?

एमाले महासचिव शंकर पोखरेल ठूला दुई दलबीचको प्रतिष्पर्धा हुने वातावरण नबने मुलुकमा राजनीतिक स्थायित्व नहुने तर्क लामो समयदेखि गरिरहेका छन् । उसोतः एमाले कांग्रेसको सत्ता गठबन्धन पनि गठबन्धन नगरी चुनाव लड्ने सर्तमा भएको दाबी आइरहेका छन् । तर संविधानले नै चुनावी तालमेल गर्न एकल चुनाव चिन्ह लिन पाउने व्यवस्था गरेको अवस्थामा एमालेले वकालत गरिरहेको यो उक्ति कतै निरंकुशतातर्फ जाने संकेत त होइन ? 

स्वभाविक शंका भने उब्जिएको देखिन्छ । एमाले महासचिव निर्वाचन प्रणालीमा रहेको समानुपातिक समावेशीताको सवाललाई व्यवस्थित गर्ने र थ्रेस होल्ड १० प्रतिशत पु¥याउनुपर्छ भन्नेमा देखिन्छन् । १० प्रतिशतको थ्रेसहोल्ड लगाए धेरै दलले समानुपाति सीट प्राप्त गर्न नसक्ने र सिमित दलले राज गर्न पाउने हुनाले चुनावी परिणाममा फेरबदल हुने अपेक्षा उनको छ । 

अहिले पनि जनमतको हिसाबले एमाले कांग्रेसले पाउने मत ठूलो देखिन्छ भने १० प्रतिशत कटाउन सक्ने दलमा माओवादी केन्द्र पनि मुस्किलले हुने अवस्था बन्दैछ । 

यस्तोमा नयाँको चमत्कारबाहेक अरु सिट प्राप्त हुने आशाले पनि थ्रेस होल्डका विषय उठाइएका छन् । तर, एमाले नेतृत्वको सरकारमा रहेका साना दलहरु संविधान संशोधनको सवालमा यस्तो मुद्दामा सहमत होलान् त ? शंका र प्रश्न भने छ । 

कांग्रेस के गर्ला ?

कांग्रेस पनि एकल चुनाव लडौं भन्ने सवालमा सहमत हुन सक्छ । हुनत कांग्रेसमा इतर पक्ष एक्लै चुनाव लड्नुपर्छ भन्नेमा दृढ देखिन्छ । 

रुखका मतदाताले अन्त मत हाल्न नपरोस भन्ने धारणा राख्दै आएको कांग्रेसको तप्का र गठबन्धनको जोडमा केहि सीट जितेर बार्गेनिङ गर्ने साना दललाई साइजमा ल्याउन पनि ठूला दलले यस्तो सहकार्य नगर्लान भन्न सकिन्न । तर, चुनाव आउने मिति धेरै बाँकी रहेको अवस्था र प्रतिपक्षमा रहेका दलहरुसँग सत्ताको लामो अनुभव भएकै कारण पनि संविधान संशोधनको मुद्दासम्म पुग्दा सत्ता समिकरणमै फेरबदल आउने स्थिति नबन्ला भन्न सकिन्न । तर, ठूला दलले साना दललाई झस्काएका मात्रै छैनन्, अस्थित्व बचाउन के गर्ने भन्ने बाटोमा भने पु¥याइदिएका छन् । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update