काठमाडौं । जनता समाजवादी पार्टी नेपाललाई प्रधानमन्त्री केपी ओलीले महत्व नदिँदा सत्ता पक्षमा रहेको जसपा अलमलमा परेको छ ।
पछिल्लो समय सरकार विस्तारमा पनि जसपा नेपाललाई छुटाएका ओलीले मधेसमा पनि मौका दिने स्थिति नहुँदा जसपा नेपालको नेतृत्वले उचित अवस्था हेरेर सरकारको विरोध गर्ने बाटो खोज्न थालेको छ ।
जनता समाजवादी पार्टी नेपाल केहि समय पहिलेमात्रै विभाजन भयो । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजनको प्रमुख कारण उपेन्द्रले सत्ता समिकरण फेर्न कांग्रेससँग सहकार्यको तयारी गरेपछि स्थिति बिग्रिएको एमाले नेताहरुले खुलेआम भन्ने गरेका छन् ।
उपेन्द्रले तत्कालीन एमाले–माओवादी केन्द्रको गठबन्धन भत्काउन तयारी गर्दै गतिविधि गर्न खोजेपछि विभाजन भएको भन्ने मतपनि उत्तिकै छन्् । यस्तै अहिले एमालेले मधेसमा जसपा नेपालको प्रमुख प्रतिष्पर्धी पार्टी जनमतलाई नेतृत्व दिएको छ ।
यि सबै कारणले उपेन्द्र कांग्रेस–एमालेसँग भित्रभित्रै मुर्मुरिएका छन् । तर, प्रचण्डसँग रिसाएर अहिलेको गठबन्धनमा पुगेका उपेन्द्र तत्कालै गठबन्धन फेरिहाल्ने पक्षमा पनि छैनन् ।
ओलीले पत्याएनन् जसपा नेपाल
प्रधानमन्त्री केपी ओलीले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पत्याएनन् । सरकार विस्तारमा जानेरै उपेन्द्रलाई स्वागत गरेनन् । एमाले–कांग्रेस गठबन्धन बनेपछि कांग्रेसले भरथेग गरिहाल्छ भनेर सत्ता पक्ष बन्ने घोषणा गरेका उपेन्द्रलाई ओलीले नपत्याएपछि उनी पछिल्लो समय संविधान संशोधनको विषयमा फरक मत राख्न थालेका छन् ।
ओलीले पूर्वसहकर्मी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएका छन् । अशोक राई एमालेको उपाध्यक्ष हुँदै जसपासम्म पुगेका व्यक्ति हुन् ।
यस्तोमा ओलीले राईसँग सहकार्य गर्ने र पार्टी एकतासम्म जान सकिन्छ कि भनेर उपेन्द्रलाई वास्ता नगरेको देखिन्छ । तर, उपेन्द्रले पनि आफू नेतृत्वबाट अलग्गिएको अशोक राईको जसपालाई रोक्न सकिन्छ कि भनेर सत्ता पक्ष नै बनेको देखिन्छ । तर, उपेन्द्रको महत्व सत्ता गठबन्धनमा घट्दै गएको छ भने कांग्रेसले पनि उपेन्द्रलाई बोक्ने स्थिति बनेको छैन् ।
गएको निर्वाचनमा जस्तो उपेन्द्रको दाउ
गएको निर्वाचनमा पनि उपेन्द्रले एमालेसँग सहकार्य गरेका थिए । एमाले चौतर्फी घेराबन्दीमा रहेको बेला साथ दिएकाले ओलीले सहयोग गर्लान भन्ने ठानेका उपेन्द्र एमाले छाडेर कांग्रेस माओवादी क्याम्प र फेरि कांग्रेस क्याम्पमा पुगेपछि ओलीले अशोक राईलाई च्याप्न थाले । त्यसैको कोपभाजनमा परेका उपेन्द्र अब के गर्छन् भन्ने टुंगो लागि सकेको छैन् ।
मधेसमा पनि उपेन्द्रलाई घाटा
एमाले–कांग्रेसको गठबन्धनमा पसेर मधेस सरकारमा पनि जान सकिन्छ कि भन्ने दाउ कुरेका उपेन्द्रलाई जनमत पार्टीले जिल्ल पारिदिएको छ । जनमतले ओली र कांग्रेसलाई विश्वासमा लिएर जसपा नेपाललाई सरकारबाट प्रतिपक्षमा धकेलेपछि उपेन्द्र अब यो सत्ता गठबन्धनबाट एक्लिएका छन् । तर, उनी तत्काल सत्ता गठबन्धनबाट फर्किने राजनीतिक माहोल नदेखिएको र पार्टी विभाजनमा प्रचण्डले प्रमुख भूमिका खेलेको भन्दै रिसका कारण पनि अलमलमा देखिन्छन् ।
सत्ता गठबन्धन छाड्ने बाटो खोज्दै
उपेन्द्रले कांग्रेस–एमाले सत्ता गठबन्धन छाड्ने राजनीतिक कारण खोज्न थालेका छन् । पछिल्लो समय दुई ठुला दल मिलेर समानुपातिक समावेशीतालाई निस्तेज पार्न खोजेको आरोप लगाइरहेका छन् ।
उसोतः एमालेले प्रष्ट रुपमै थ्रेस होल्ड १० प्रतिशत पु¥याउने र निर्वाचन प्रणालीसहित संविधान संशोधनको मुद्दालाई पहिले देखि नै बोक्दै आएको छ ।
प्रचण्डले संसदमै ठूला दलको सहकार्यले साना दल चेपवामा पर्न थालेको आरोप लगाएपनि सत्ता पक्ष बन्न खोजेका उपेन्द्र अब बाहिरिने बाटो खोज्न थालेका छन् । तर, सत्तामा केहि स्थान नपाएसम्म बार्गेनिङ गर्ने वा यस्तै गरि कर्नरमा परे बाहिरिने उनले अन्तिम विकल्प भने रोज्ने नै छन् ।
