काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीमा गुट स्वीकार्य नहुने दाबी गर्छन् । तर, उनको आँखै अगाडी नै उनका दुई विश्वास पात्रले गुट सञ्चालन गर्ने गरेका छन् । पार्टी अध्यक्ष ओलीले गुटगत गतिविधिमा निमर्म बन्ने बताइसकेका छन् ।
यस्तो अवस्थाका बीच ठूला नेताले चलाउने गुट र अन्य नेताहरुले पनि चलाइरहेका गुटको भविष्य अब के होला त ? अनि के ओलीले आफूलाई बिना कुनै प्रश्न सहजै स्वीकार गर्नेहरु भेला पार्ने तर तल्लो तहमा जे गरेपनि छुट दिने योजना बनाएका हुन् त ?
एमाले केपी शर्मा ओलीको नेतृत्वमा चलिरहेको छ । ओलीले पार्टीमा आफुले चाहेको निर्णय गर्दै आएपनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि निर्णयक रुपमै भाग लिने क्रम बढाउने बाटोमा छन् ।
मन्त्रीदेखि राजनीतिक नियुक्तिमा समेत भाग पाउने भण्डारीले सक्रिय राजनीतिमा आउने इच्छा व्यक्त गरेपनि ओलीले त्यसलाई नकार्दै आएका छन् । यि परिवेशका बीच आगामी महाधिवेशनबाट अध्यक्षमा पुनः दोहोरिन चाहेका ओलीले अर्लि महाधिवेशन गर्न सक्ने समेत बताइन्छ ।
यसैको तयारीका लागि ओलीले आफ्नो पक्षमा रहनेहरुलाई गुटगत गतिविधि गर्दा समेत नरम व्यवहार गर्ने तर, आफू अध्यक्ष बन्न चुनौति दिनेहरुका गुटगत गतिविधि अस्वीकार्य भएको भन्दै कडा चेतावनी दिने गरेका छन् ।
ओलीले यस्तो चेतावनी पार्टी प्रवेश कार्यक्रममा दिएपनि एमालेमा गुटले ठूलो रुप भने लिइसकेको छ । लुम्बिनी र गण्डकीमा शक्तिशालीहरुले गुट चलाइरहेका छन् । उनीहरुले पार्टी निर्णयदेखि नियुक्तिसम्मका विषयमा समेत चलखेल राम्ररी गर्ने गर्छन् । तर, ओली गुटबन्दी गरेर, जालझेल गरेर सफल भइन्न भन्दै एकताबद्ध हुन चेतावनीको शैलीमा उत्रने गरेका छन् ।
ओलीले यस्तो चेतावनी दिइरहेकाबेला गुट सञ्चालन गर्ने नेताहरु निर्धक्क समर्थन गर्छन् । आफ्नो प्रभाव विस्तार गर्न उनीहरु कुनै कसर बाँकी भने राख्दैनन् । एमालेले आन्तरिक निर्वाचनलाई उपयोग गर्ने भएकाले पनि गुट अनिवार्य बन्नु परेको बताइन्छ ।
शक्तिशाली गुट
लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेले गुट चलाइरहेका छन् । उनीहरुले देशभर आफ्नो गुट विस्तार गरेपनि लुम्बिनीमा निर्णायक पहल लिन्छन् ।
केहि समय पहिलेमात्रै मुख्यमन्त्री सिफारिसमा समेत पौडेल र पोखरेलबीचको तीब्र प्रतिष्पर्धाका कारण संसदीय दलको नेता रहेका लीलानाथ गिरी मुख्यमन्त्री बन्नबाट रोकिए ।
मुख्यमन्त्रीको दाबी पेश गर्ने अन्तिम तयारी गरेका गिरी अ्नतिममा रोकिए र विरोध गरे । तर, गुटको प्रभावले गिरी मुखैमा आएको पद लिनबाट बञ्चित बने । पोखरेल निकटका चेतनारायण आचार्य मुख्यमन्त्री बनिसकेका छन् ।
विष्णु पौडेल निकटका गिरी दलको नेता भएपनि ओली र पोखरेलको ठाडो निर्देशनमा मुख्यमन्त्री बन्न पाएनन् । तर, आचार्यले पोखरेलले दाङ सारेको राजधानीको सम्पर्क कार्यालय भने वुटवलमा ब्यूँताएर पौडेललाई केहि राहत दिन खोजेको सन्देश भने दिएका छन् ।
लुम्बिनीमा जस्तै गण्डकीमा पनि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृ्थ्वीसुब्बा गुरुङ र खगराज अधिकारीबीच तीब्र प्रतिष्पर्धा हुने गर्छ । दुई नेताहरुले गण्डकी सरकार निर्माणदेखि हरेक कुरामा आफ्नो हस्तक्षेपलाई तीब्र पार्छन् । ओलीसँग निकट रहेका दुबै नेताहरुले प्रदेशमा गुट चलाइरहेका छन् । शक्तिशाली गुटहरु यी नै भएपनि एमालेमा सानातिना गुटहरु पर्याप्त मात्रामा छन् ।
अंझ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेतृत्वमा ल्याउने कोसिस समेत उत्तिकै जोडले हुन थालेको छ । भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने लाइनमा शीर्ष नेताहरुले नै चलखेल गर्न थालेपछि ओलीले हिसाब मिलान गर्न अनेक जिम्मेवारी हेरफेरदेखि निर्णयहरु लिने गरेका छन् । तर, पनि ओली भने गुट अस्वीकार्य भएको ढोङ पिटिरहेका छन् ।
