News 24 Television
रास्वपा भन्छ– 'काँग्रेस-एमाले अनुकुलको संविधान संशोधन मान्दैनौँ'

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले आफू अनूकल संविधान संशोधन गर्ने सत्तारुढ गठबन्धनको सहमति मान्य नहुने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राज्यका सबै निकायमा समावेशी हुनेगरी प्रतिनिधित्व गराउन पनि सरकारलाई सचेत गराए । उनले सरकारले समावेशीताको आधारमा राज्यका सबै अंगमा नियुक्ति गर्नुपर्ने व्यवस्थालाई लत्याएको आरोप समेत लगाए । संविधानले समावेशीतालाई जोड दिए पनि सरकारले सोही अनुसार काम गर्न नसकेको भन्दै उनले आपत्ति पनि जनाए ।

उनले भने, ‘संविधानको मूलभूत आशय समावेशितालाई अहिले राजनीतिक पार्टीहरुले नै लत्याईरहेका छन् । संविधान आफैले काम गर्ने होइन । संविधान एउटा सामाजिक करार हो । त्यो अनुसार राजनीतिक पार्टी र व्यवस्था चल्नुपर्छ सभामुख महोदय । तर राजनीतिक पार्टीहरु आज त्यो सामाजिक करारलाई मानिरहेका छैनन् । म सम्माननीय सभामुख महोदयमार्फत राजनीतिक पार्टीहरुको ध्यानाकर्षण गराउन चाहन्छु–१४ प्रतिशत लगभग रहेको दलित समुदाय सबैतिरबाट वञ्चित गर्ने यो कस्तो खालको राजनीतिक प्रवृत्ति हो ? संविधान अनुसार काम नगर्ने, आफू अनुकुल संविधान संशोधन गर्न खोज्ने कदाचित मान्य हुने छैन । राष्ट्रिय स्वतन्त्र पार्टी यो सरकारले समावेशितालाई नबुझेको कुरामा घोर भर्त्सर्ना गर्दछ । र सरकारका सबै निकायहरुमा समावेशितालाई प्राथमिकतामा राखेर काम गर्न ध्यानाकर्षण गराउँछ ।’

 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update