काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी छोटो समयमा नै उदाएको पार्टी हो । ७९ सालको आम निर्वाचन भन्दा ६ महिनाअघि मात्रै स्थापना भएको यो पार्टीले निर्वाचनमा अप्रत्याशित नतिजा हासिल गर्यो । संसदको चौथो दल भए पनि पटक पटक सत्ता साझेदारी गर्दै सरकारमा पुगेको रास्वपा अहिले भने सरकार बाहिर छ । कुनै न कुनै स्टण्ड गरेर चर्चामा आउन चाहिरहने रास्वपाले अहिले पुनः अनौठो अभियानमा छ ।
गएको आम निर्वाचन भन्दा ६ महिनाअघि मात्रै स्थापना भएर पनि संसदको चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला सरकार बाहिर छ । सरकारमा रहँदा पनि काम भन्दा कुरा मात्रै बढी गरेको भन्दै रास्वपाका निकै आलोचना भयो । सरकारमा जाने गरी जनताले मत नदिएको भन्दै जनस्तरबाट सुझाव आए पनि सरकारमा सहभागी हुन रास्वपाले ठूला पार्टीहरुको फेरो समातेको थियो । सरकारमा गएर मात्रै जनतालाई डेलिभरी दिन सकिने भन्दै महत्वपूर्ण मालदार मन्त्रालय सम्हाले पनि डेलिभरी दिन नसकेको भन्दै यो दललाई पुरानै दलको पूच्छर बनेको भन्दै आलोचना भइरह्यो । पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी, ६१ किलो सुन, गिरीबन्धु टी इस्टेट लगायतका प्रकरणको फाइलहरु अघि बढाउने भने पनि त्यसतर्फ ध्यान दिएनन् । तर सरकारमा रहँदा काम गर्न नसके पछि लामिछान विभिन्न फण्डाहरु गर्न सिपालु छन् ।
गत पुसको पहिलो साता बुटवल–नारायणघाट सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै लामिछाने आफैले पैदलयात्रा गर्दै चर्चा बटुलेका थिए । तर चिनियाँ परियोजनाको विरोध गरेपछि उत्तरी छिमेकीको आँखी बन्न पुगे । लगत्तै उनले चिनियाँ पक्षलाई रिझाउन अन्य अलपत्र २१ राष्ट्रिय गौरवका आयोजनाहरुमा सांसदहरुले पैदलयात्रा गर्ने निर्णय गराएका थिए ।
चुनाव जितेपछि चितवनका आफ्नो निर्वाचन क्षेत्रमा निलो बस सञ्चालनदेखि निःशुल्क स्वास्थ्य सेवा दिने जस्ता कार्यक्रम पनि रवि लामिछानेले अघि सारेका थिए । जसलाई उनको ‘स्टण्डबाजी’ भन्दै निकै आलोचना भयो ।
पुराना राजनीतिक दलहरुको विकल्प भन्दै युवा नेताहरुलाई नागरिकसले समर्थन गरे पनि लामिछाने एकपछि अर्को काण्डमा मुछिए । पछिल्लो समय सहकारी ठगी प्रकरणमा पनि रविको संलग्नता देखिएको भन्दै विरोध मात्रै भएन, संसदीय छानबिन समिति नै बनेको छ । समितिको प्रतिवेदन भने सार्वजनिक भइसकेको छैन ।
अहिले पुनः लामिछानेले आफ्ना नेता कार्यकर्तालाई पाँच दिनका लागि सार्वजनिक सवारीको साधनमा यात्रा गर्न उर्दी जारी गरेका छन् । सांसद र केन्द्रीय सदस्यहरुले पाँच दिन सार्वजनिक यातायात चढ्ने भन्दै आफ्नो र नेताहरुका निजी सवारीहरु पार्टी कार्यालयमै थन्क्याइएको छ । आफ्नो निजी सवारी थन्क्याएर मात्र ५ दिनका लागि सार्वजनिक यातायात चढ्न शुरु गरेपछि रास्वपाको नयाँ स्टण्डबाजी भन्दै सामाजिक सञ्जालहरुमा निकै आलोचना भइरहेको छ ।
