News 24 Television
शीर्ष नेतालाई बुझाइयो सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन

काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)को प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाइएको छ । तीन प्रमुख दलका नेताहरु सम्मिलित कार्यदलले सहमति जुटाएर तयार पारेको प्रतिवेदन आज तीनै दलका शीर्ष नेतालाई बुझाइएको हो । 

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उक्त प्रतिवेदन बुझाइएको हो । प्रतिवेदनले दिएको सुझावका आधारमा संसदीय समितिमार्फत अघि बढाएर उक्त विधेयकलाई जारी संसद् अधिवेशनबाटै पारित गराउने तयारी रहेको छ ।

लामो समयदेखि संसदमा विचाराधीन अवस्थामै अड्किएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनमाथि संशोधन विधेयक २०७९ मा संसदमा दर्ता भएको थियो । उक्त विधेयकमा नमिलेका कुरामाथि राजनीतिक सहमति जुटाउन एमालेबाट महेश बर्तौला, कांग्रेसबाट रमेश लेखक र माओवादी केन्द्रबाट जनार्दन शर्मा सम्मिलित कार्यदल गठन गरिएको थियो । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update