News 24 Television
प्रचण्डको नयाँ योजना, जोशले पुरा गर्ला सोच ? 

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र चरम निराशा बढ्दै गएको छ । पार्टीको आकार खुम्चिदै गएको छ । जनमत पनि ओरालो लागिरहेको बेला जनतामा विश्वास विस्तार कसरी गर्न सकिन्छ भन्नेमा बहस चल्न थालेको छ । 

माओवादी नेताहरुले नेतृत्वमाथि प्रश्न गरिरहेको बेला प्रचण्डले आफू जीवनको उत्तरारद्धमा भएपनि युवावस्थाकै जोशमा रहेको र पार्टीलाई नयाँ तहमा लैजाने बताएका छन् । जनविश्वास विस्तारका लागि के छन् त प्रचण्डका योजना ? 

शान्ति प्रक्रियापछि माओवादीले प्राप्त गरेको शक्ति निरन्तर क्षयिकरण हुनेक्रममा छ । शक्ति ह्रासको जोखिममा फसेको माओवादी केन्द्रले अब कस्तो रणनीति अख्तियार गर्ने भन्नेमा अन्योल पनि देखिन्छ । तर, प्रचण्डले अब गठबन्धनको वैशाखी नटेक्ने र आफ्नै बलमा निर्वाचनमा जाने बताउन थालेका छन् । 

अध्यक्षका रुपमा यो कार्यकाल भर सरकार बनाउने र प्रधानमन्त्री बन्नेमा ध्यान नदिने दाबी गरेका प्रचण्डले व्यवहारमा पनि यो लागू गर्लान् ? विश्वास गर्न सकिने अवस्था बनिसकेको भने छैन् । यद्दपी, प्रचण्डले जोशका साथ पार्टी सुधारका कार्य गर्ने आफ्नो प्राथमिकता रहेको उनले बताएका छन् ।

प्रचण्डले पार्टीको शक्ति कमजोर बन्दै गएको स्वीकार भने सार्वजनिक रुपमै गरिहेका छन् । तर, अब यस्तो हुन नदिने भन्दै ०८४ को निर्वाचनमा नयाँ ढंगले अघि बढ्ने भन्दै फुटेका माओवादीलाई पनि अब एकतामा ल्याउने दाबी गरे । 

जीवनको उत्तरार्द्धमा रहेको बताएका प्रचण्डले पार्टीमा उत्तराधिकारी निर्माण गर्ने मात्रै बताएका छैनन्, एक पटक सबै माओवादीहरुलाई नेतृत्व गर्ने मन भएको पनि बताएका  छन् । तर, माओवादी नेता महेन्द्रबहादुर शाहीले भने प्रश्न गरेका छन् । जनयुद्धमा विश्वास गर्ने नेता कार्यकर्ता कहाँ छन् भन्दै पेचिलो प्रश्न गरेका शाहीले पार्टीको भूमिका फेरिनुपर्नेमा जोड दिए । 

पार्टी कमजोर बनिरहेको अवस्थामा उपमहासचिव शक्तिबहादुर बस्नेत पनि सच्चिनुपर्नेमा जोड दिइरहेका छन् । बस्नेत पार्टीभित्रका आन्तरिक कमजोरी र सत्तामा लामो समय बस्दा के गरियो र जनताले साथ छाडे भन्ने विषयमा भन्दा पनि वैद्य र बाबुराम भट्टराईमाथि दोषारोपण गर्नमै रुमल्लिएका देखिन्छन् । 

माओवादी जनमतको संकटमा कमजोर धरातलसहित उभिएको छ । विभिन्न नाम र पार्टीमा विभक्त माओवादीहरु एकीकृत होलान् ? शंका तीव्र छ । तर, कतिपयले अब प्रचण्डसँग एकता सहकार्य गर्ने तयारी भने गरेको देखिन्छ । यस्तोमा माओवादीले सत्तादेखि सत्तासम्मको यात्रालाई प्राथमिकता दिन्छ वा व्यवहारिक रुपमै रुपान्तरणको बाटो अंगाल्छ भन्ने विषयले धेरै कुरा निर्धारण गर्नेछ । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update