News 24 Television
०८४ मा एकल बहुमत ल्याउने दलहरुको दाउ, आ–आफ्नै भित्री तयारी 

काठमाडौं । दलहरुले मिसन ८४ को नारा लिएर जनतलाई प्रभाव पार्न थालेको ०७९ सालको आम निर्वाचनको मत परिणामपछि देखि नै हो । खासगरी मत परिणाम आएलगत्तैबाट रास्वपाले मिसन ८४ को नारा लिएर कार्यक्रम गर्दै आएको थियो । तर पछि यो नारालाई सबै दलहरुले साझा बनाए । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ०७९ को निर्वाचनमै एक्लै बहुमत ल्याएर सरकार बनाउने दावी गर्दै आएका थिए । 

तर एमालेले एकल बहुमत ल्याउन नसकेपछि ओली मिसन ८४ नाराको साहारा लिन पुगे । त्यसयता सत्तामा रहँदा होस् वा बाहिर रहँदा काँग्रेस तथा माओवादीले पनि यही नारालाई बोक्दै आइरहेका छन् । 

विशेषगरी एकल र सहज सरकार निर्माणको विषयलाई लिएर काँग्रेस, एमाले, माओवादी र रास्वपाले मिसन ८४ को नारा लिएका हुन् । यसका लागि यी सबैजसो दलहरुले भित्रि तयारी गरिरहेका छन् । सर्वप्रथम राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नै यो अभियान सुरु गरेको हो । 

पार्टी स्थापनमा भएलगत्तै निर्वाचनको सामना गरेको रास्वपाले अनपेक्षित मत प्राप्त गरेपछि हौसिएको छ । रास्वपाले अन्य दलहरुको चरित्रमा प्रश्न उठाउँदै आउँदो निर्वाचनामा एकलौटी सरकार बनाउने दावी गरिरहेको छ । 

पछिल्ला उपनिर्वाचनहरुमा हार र जित दुवै व्यहोरेको रास्वपा अहिले संगठन विस्तारमा लागि परेको छ । इलाम – २ को उपनिर्वाचनमा अप्रत्यशित हार व्यहोरेको रास्वपा अहिले गम्भीर समीक्षासहित आउँदो निर्वाचनमा एकले बहुमत ल्याउने लक्ष्यमा छ । 

एमालेको आफ्नै तयारी 

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले ०७९ कै आम निर्वाचनमा आफ्नो दलले एक्लै  बहुमत ल्याउने अभिव्यक्ति दिँदै आएका थिए । तर निर्वाचन परिणामले एमालेलाई दोस्रो स्थानमा खुम्च्याइदियो । त्यसपछि अध्यक्ष ओली पनि मिसन ८४ को नारा लिइरहेका हुन् । अहिले उनी काँग्रेसँगको गठबन्धनमा सरकारको नेतृत्व गरिरहेका छन् । 

सरकारको नेतृत्व आफ्नै हातमा भएपनि सहमति अनुसार दुई वर्षपछि उनले काँग्रेसलाई सत्ता सुम्पनुपर्ने छ । यही कारण पनि उनी अहिले भित्री रुपमा मिसन ८४ को अभियानमा छन् ।

एमालेको आन्तरिक पार्टी व्यवस्थापन र गतिविधिले मिसन ८४ लाई नै लक्षित गरेको देखिन्छ । अध्यक्ष ओलीले केही दिनअघि मात्रै पार्टीको जिम्मेवारीमा व्यापक हेरफेर गरे । त्यस लगत्तै उनले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरे । 

जसमा पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा सुदृढ गर्ने उद्देश्य र संगठन सुदृढीकरण तथा  शुद्धीकरणको कार्ययोजना अघि सारिएको छ । त्यस्तै ओलीले आउँदो आम निर्वाचनमा बहुमत ल्याउनेगरी अघि बढ्न पनि पार्टी पङ्तिलाई निर्देश गरिरहेका छन् । 

सरकारको नेतृत्व गरिरहेपनि ओलीले पार्टीलाई चलायमान र शक्तिशाली बनाउने गतिविधि गरिरहेको देखिन्छ । एमालेले यसअघि पार्टीको अभियान स्वरुप पहाडी राजमार्गको यात्रा देखि मिसन ग्रास रुटसम्म संचालन गरेको थियो । 

काँग्रेसको पनि एकल बुहमत ल्याउने सपना

नेपाली काँग्रेस पनि आगामी निर्वाचनबाट एकल सरकार निर्माणको सामार्थ्य बनाउने दाउमा छ । काँग्रेसले महासमिति बैठकमा अबको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने र एक्लैले एकल सरकार बनाउने उदेश्य लिएको छ । 

यही उदेश्य प्राप्तिका लागि काँग्रेस हाल संगठनात्मक सुधारको अभियान चलाउने निश्र्षमा पुगेको छ । भर्खरै बसेको केन्द्रिय समितिको बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रश्ताव प्रस्तुत भइसकेको छ ।

उता माओवादी केन्द्रले पनि अब प्रतिपक्षीको सशक्त भूमिका निर्वाह गर्ने र आउँदो निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने मनशाय बनाइसकेको छ । माओवादीको पादाधिकारी बैठकले यसअघि नै अब जनताको समस्य बुझ्न पार्टी पङ्तिलाई देशैभर खटाउने निर्णय गरेको छ । यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयम पार्टीको गतिविधिमा सक्रिय बनेका छन् । 

प्रचण्डले ८४ सालको निर्वाचन अघि प्रधानमन्त्री बन्नका लागि लागी नपर्ने उद्घोष गरिसकेका छन् । बरु निर्वाचनमा एकल बहुमत ल्याएर प्रधानमन्त्री बन्ने उनको चाहना छ । 

यसरी काँग्रेस, एमाले, माओवादी र रास्वपाजस्ता प्रमुख चार दलले आउँदो निर्वाचनमा एकल बहुमत ल्याउने उदेश्यका साथ मिसन ८४ को घोषित–अघोषित अभियान चलाइरहेका छन् । 

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकारकै नेतृत्व गरिरहे पनि पार्टीलाई सशक्त बनाउन अझ बढी सत्रियता देखाइरहेका छन् । उनी काँग्रेसँगको समझदारी अनुसार निश्चित अवधिमा सरकारको नेतृत्व पनि छाडिदिने मुडमा पनि छन् । 

यसरी सबै दलहरुले मुलुकको वर्तमान समस्यालाई नजरअन्दाज गरेर भावी निर्वाचन लक्षित कार्यक्रमहरु गरिरहँदा उनीहरुले निर्वाचनमा कस्तो नतिजा प्राप्त गर्छन । त्यो भने अहिले नै अनुमान गर्न सकिने अवस्था छैन । 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update