काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा समान धारणा बनाउन थालेका छन् । प्रतिस्पर्धी समेत रहेका दुई नेताहरु चुनावी गठबन्धनको विषयमा एकमत भएर अघि बढ्ने देखिएको हो । गगन–विश्वप्रकाशको मिलाप र पार्टीमा उनीहरु बीचको प्रतिस्पर्धालाई कसरी लिइएला त ?
चुनावी गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा नेपाली कांग्रेसभित्र दुई पक्ष रहेका छन् । एउटा पक्ष चुनावी गठबन्धन समय आवश्यकता भनिरहेको हुन्छ भने अर्को पक्षले यसलाई नकार्ने गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा भने अवस्था अनुसारको व्यवस्था भन्दै परिस्थिति हेरेर निर्णय लिने गर्छन् ।
वामपन्थी दलहरुसँग मिलेर चुनाव लड्नेदेखि सत्तामा जान अनेक उपाय रोज्ने देउवालाई रोक्न कांग्रेसमा समस्या भएपनि पछिल्लो समय चुनावी गठबन्धन गर्नैहुन्न भन्ने मत बलियो बन्न पुगेको छ । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले चुनावी गठबन्धन गर्न नहुने विचार राखेपछि उनी पनि अर्का महामन्त्री गगन थापाको लाइनमा पुगेको विश्लेषण हुन थालेको छ ।
चुनावी गठबन्धन र दलीय दृष्टीकोणको विषय उठ्दै आएपनि पछिल्लो समय एक्काएक्लै चुनाव लड्ने वा गठबन्धन गर्ने भन्ने नेताहरुको ठूलो जमात छ । यस्तोमा कांग्रेसभित्र चुनाव आउन धेरै समय बाँकी भएपनि चुनावी गठबन्धनको विषय अहिलेदेखि नै पेचिलो बनिरहेको छ । गठबन्धनको बलमा नै चुनाव जितेका कांग्रेस नेताहरुले अब चुनावी गठबन्धन गर्न नहने तर्क अघि सार्न खोजेको यो परिदृष्यमा के यो विचार दिगो होला ? शंका छ ।
२०७४ को आम निर्वाचनमा कांग्रेसविरुद्ध वामपन्थी गठबन्धन हुँदा कांग्रेसले नराम्रो चुनावी परिणाम व्यहोर्न पुगेको थियो । तर, गएको चुनावमा कांग्रेसले गठबन्धन गर्दा पनि एमाले समानुपातिकतर्फ ठूलो पार्टी बन्न पुग्यो भने कांग्रेस केहि सिटले मात्रै अघि छ । यस्तोमा कांग्रेसभित्र चुनावी गठबन्धन नगर्ने भन्ने विषयले कति काम गर्छ त्यो हेर्न बाँकी छ ।
गगन–विश्वप्रकाशको मिलाप
गगन थापा पार्टी राजनीतिमा विश्वप्रकाशभन्दा जुनियर हुन् । तर, गगनको क्षमता र दक्षताका कारण उनलाई अघि सार्ने विचार सार्वजनिक रुपमै राख्दै आएका विश्वप्रकाश पछिल्लो समय गगनसँग समान दृष्टिकोण बनाउने ध्याउन्नमा देखिन्छन् ।
यस्तोमा गगनले भनेजस्तै विश्वप्रकाशले पनि चुनावी गठबन्धन गर्न नहुने मतमा अग्रसरता देखाएका छन् । तर, पार्टीभित्र कयौं नमिलेका विषयमा उनीहरुको मिलाप कस्तो हुन्छ ? राजनीतिक रुपमा प्रतिस्पर्धी रहेका उनीहरु कुन तहसम्म मिल्न सक्लान् ? यस्ता प्रश्नहरु भने पेचिला छन् ।
