काठमाडौं । नेकपा माओवादी केन्द्र प्रतिपक्षमा पुगेपछि गम्भीर विमर्शमा जुटेको छ । पार्टीलाई जनतामा लैजानेदेखि आफैबाट शुद्धीकरण हुनुपर्ने मत राखिराखेको माओवादीले सत्ताको विश्लेषणदेखि विभिन्न एजेण्डामा बहस गरिरहेको छ । के अब माओवादीलाई यो बैठकले नयाँ बाटोमा लैजाला त ?
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा विभिन्न विषयमा छलफल विमर्श चलिरहेको छ । माओवादी केन्द्रको स्थायी समिति बैठकले गरिरहेको छलफलको एउटै निष्कर्ष हो, पार्टी कमजोर बन्यो, कसरी बलियो बनाउने भन्ने । एक्लै चुनावमा जान नसकिने गरि खुम्चिएको माओवादीमा नेताको कमी भने छैन् । तर, मतदाताको विश्वास हराउदै गएपछि नेताहरुमा वेचैनी मात्रै बढेको छैन्, उनीहरु सबै गुम्छ कि भन्ने डरमा देखिन्छन् ।
यस्तोमा माओवादी केन्द्रले वर्तमान राजनीतिक परिस्थिति, वैचारिक, राजनीतिक, सांगाठनिक परिस्थिति र अबको कार्यभार र विविध खालका एजेण्डामा छलफल गरिरहेको छ ।
संसदीय भूमिकामा आइसकेपछि पार्टी र नेताहरु प्रदुषित बन्न पुगेको निष्कर्ष सुनाएका प्रचण्डले बृहत्तर वामपन्थी एकताको पहल गर्नुपर्नेमा समेत जोड दिएको दाबी गरिएको छ ।
माओवादी केन्द्रको स्थायी समिति बैठकमा प्रचण्डले विभिन्न विषयमा कुरा राखिरहेका छन् भने, उनले नेकपा एकीकृत समाजवादी, नेकपा लगायत पार्टीसँग समाजवादी मोर्चा हुँदै एकताका निम्ति समेत पहल गर्नुपर्नेमा जोड दिएको बताइएको छ ।
प्रचण्डको इच्छा र नेतृत्वको प्रश्न
पार्टी कमजोर बन्दै गएको विषयमा समेत माओवादी स्थायी समिति सदस्यहरुले धारणा राखिराखेका छन् । पार्टी कमजोर बन्नुमा नेताहरुको प्रवृत्ति र सत्ता केन्द्रित चाहनालाई ठानिएको अर्थमा बहस चलिरहेको छ ।
माओवादीमा नेतृत्व हस्तान्तरणको विषय समेत उत्तिकै जोडले चलिरहेको छ । तर, पार्टी अध्यक्ष प्रचण्डले भने तत्काल नेतृत्व छाड्ने भन्दा पनि आफू युवा नै रहेको भन्दै एकता गरेर एकपटक नेतृत्व गर्ने खुला चाहना राखिसकेका छन् ।
प्रचण्डले उत्कट चाहना राख्न पाउने सुविधा पाएका छन्, माओवादी केन्द्रमा । प्रचण्डभन्दा भिन्न राजनीतिक, वैचारिक कार्यक्रम ल्याउन नेताहरुले सकेका छैनन् भने, पार्टी निर्माणको खाका समेत पेश गर्न सकेको देखिन्न । यस्तोमा प्रचण्डले विकल्प दिनेभन्दा पनि प्रचण्डले चाहेमा मात्रै नेतृत्व हस्तान्तरण हुने स्थिति बनिरहेको छ ।
प्रचण्ड माओवादी ब्राण्ड भएका कारण पनि सीमित नेताहरुले विरोध गर्न सक्दैनन्, तर, पछिल्लो समय केहि नेताहरुले विरोध गर्न थालेका छन् । तर, उनीहरुले गर्ने विरोध पदका लागि हो वा पार्टी निर्माणका लागि ? त्यो भने खुल्न सकेको छैन् ।
माओवादी बैठकमा कुलमान पनि छलफलको विषय
माओवादी स्थायी समिति बैठकमा नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङबारे समेत छलफल भएको छ । कुलमान घिसिङले राम्रो काम गर्दा गर्दै पनि सरकारले अनावश्यक लान्छना लगाउने काम गरेको भन्दै माओवादीले आक्रोश पोखेको छ ।
माओवादीले कुलमानलाइ दह्रो साथ दिइरहेको छ । तर, एमाले नेतृत्व उनलाई कसरी हटाउन सकिन्छ भन्ने बाटो कुरेर बसिरहेको छ ।
संसदीय समितिको लेखा समिति सभापति ऋषिकेश पोखरेलले कुलमानविरुद्ध षडयन्त्तपूर्वक कदम चाल्न खोजेको आरोप समेत माओवादीले लगाइरहेको छ । यस्तोमा कुलमान पनि माओवादीको सरकारविरोधी अभियानमा जोडिन पुगेका छन् । कुलमानको लोकप्रियतालाई माओवादीले न्यायसँग जोडेर हेरिरहेको देखिएपनि अन्ततः राजनीतिक लाभको विषय समेत बनाउन पक्कै खोजेको छ ।
