काठमाडौं । भारतीय विदेश सचिव नेपाली समकक्षीको औपचारिक निमन्त्रणमा नेपाल भ्रमणमा छन् । विदेश सचिव विक्रम मिस्रीले जिम्मेवारी सम्हालेको एक महिनाभित्रै भुटानको भ्रमण पश्चात आइतबार नेपाल भ्रमणमा आइपुगेका हुन् । भारतीय उच्चपदस्थको यो भ्रमणलाई राजनीतिक एवम् कूटनीतिक कोणबाट कसरी हेरिएको छ त ?
भारतमा विदेश सचिव नियुक्त भएको एक महिनाभित्रै विक्रम मिस्री नेपाल भ्रमणमा आइपुगेका हुन् । उनी भुटानपछि नेपाल भ्रमणमा आएका हुन् । प्रधानमन्त्रीमा केपी ओलीले जिम्मेवारी सम्हालेपश्चात भारतबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
त्यसैले पनि यस भ्रमणले कूटनीतिक पक्षमा चासो बढाएको छ । नेपाली परराष्ट्र सचिव सेवा लम्सालको औपचारिक निमन्त्रणमा नेपाल आएका विदेश सचिवले राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै शीर्ष तहमा भेटघाट गर्ने कार्यक्रम जारी छन् ।
भ्रमणको पहिलो दिन मिस्रीले नेपाल भाषा परिषद्को भवन समेत उद्गाटन गरेका छन् । मिस्री भारत–चीन मामलाका जानकार समेत हुन् । त्यस कारण पनि उनको नेपाल भ्रमणले छिमेक सम्बन्धमा कस्तो प्रभाव पार्ला भन्ने चासो समेत बढेको छ ।
को–को सँग भयो भेटघाट ?
भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपालमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटिसकेका छन् भने सरकारी उच्च अधिकारी, शीर्ष नेता र नेताहरुसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ ।
मिस्रीले राष्ट्रपतिसँगको भेटको क्रममा जलवायु परिवर्तनमा मिलेर काम गर्न प्रस्ताव गरेको बताइएको छ । नेपाल भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्री सोमबार नै भारत फर्किने कार्यक्रम छ ।
चासोमा मिस्रीको भ्रमण
भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भ्रमण गर्दै गर्दा नेपालमा सर्वत्र चासो बढेको छ । मिस्रीको नेपाल भ्रमणले नेपाल–चीन सम्बन्धमा समेत प्रभाव पार्ने विश्लेषण भइरहेको छ ।
मिस्रीले परराष्ट्रमन्त्री आरजु राणालाई पनि भेट्ने बताइएको छ । तर, उनको नेपाल भ्रमण परिचयात्मक भन्दै औपचारिक एजेण्डा नभएको बताइएको छ । दुई देशबीच सीमा विवाददेखि थुप्रै विवाद रहेको बेला भएको उनको भ्रमण र भारत–चीनले नजिकबाट नेपालको गतिविधिलाई हेरिरहेको बेला मिस्री भ्रमणको अवसरमा दिने सन्देशलाई लिएर अर्थपूर्ण रुपमा चासो राखिएको हो ।
को हुन् मिस्री ?
भारतको विदेश मन्त्रालयमा उपसचिवदेखि निर्देशकसम्म रहेर काम गरिसकेका मिस्री उमेरले ६० वर्ष पुगेका छन् । जम्मु कस्मिरका मिस्रीले तत्कालीन प्रधानमन्त्री इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवको रूपमा काम गरिसकेका छन् भने उनलाई चीन र राष्ट्रिय सुरक्षाको जानकार मानिन्छ ।
सन् २०१८ देखि २०२१ सम्म चीनका लागि भारतीय राजदूत बनेका मिस्रीले युरोप, अफ्रिका, एसिया र उत्तर अमेरिका, स्पेन, म्यान्मासहितको भारतको विभिन्न दूतावासमा काम गरिसकेका छन् । त्यसबाहेक पाकिस्तान, श्रीलंका, अमेरिका, जर्मनीलगायतको देशमा रहेका भारतीय दूतावासमा विभिन्न पदमा रहेर काम गरेका छन् ।
