काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई पार्टी नेतृत्व छाड्न सुझाव दिएका छन् । पार्टी नेतृत्व केहि समय अझैं गर्ने बताइरहेका प्रचण्डलाई जनार्दनले संरक्षक वा चुनावबाट निर्वाचित भएर आउन दिएको चुनौतिले माओवादीभित्र आन्तरिक लोकतन्त्र र चुनावलाई स्वीकार गर्न प्रयास गर्न थालिएको अर्थमा लिइएको छ ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न र उनले चाहेको व्यक्तिलाई नेतृत्व दिन चुनौति दिए । स्थायी समिति बैठकमा जनार्दनले पेश गरेको यस्तो प्रतिवेदनले माओवादी केन्द्रभित्र प्रचण्डले चल्न खोजेको राजनीतिक मुभलाई पनि छरपष्ट पारिदिएको अर्थमा बुझिएको छ ।
जनार्दनले पार्टीको संरक्षक बन्न सुझाव दिदै प्रचण्डलाई सत्ता नेतृत्व गरेपनि पार्टी नेतृत्व गर्न नहुने बताएका छन् भने, आफूमाथि पार्टी फुटाउन लागेको निराधार हल्ला चलाएको समेत भनेका छन् ।
जनार्दनले पार्टी विभाजन गर्न खोजेको भन्दै विभिन्न चर्चा पहिलेदेखि नै हुने गरेका छन् । प्रधानमन्त्री रहँदासम्म यो विषयमा खास प्रतिक्रिया नदिएका प्रचण्डले केहिदिन पहिले पार्टीमा गुट व्याप्त रहेको, फुटको संघारमा पुगेको दाबी गर्दै फुट्न पनि नदिने र वृहत वामपन्थीको एकता गर्ने चाहना रहेको दाबी गरेका थिए ।
प्रचण्डले पार्टी फुट्न लागेको दाबी गरेपनि कसले फुटाउन खोज्यो भन्ने विषयमा भने बोलेका थिएनन् । तर, जनार्दनले आफूलाई एमालेमा जान लागेकोदेखि पार्टी फुटाउन खोजेको आरोप लगाएको भन्दै प्रतिवेदन नै दिएपछि भने हंगामा भएको छ र प्रचण्डले भनेको कुरा पनि जनार्दनको थाप्लोमा पुगेको छ ।
जनार्दनले उठाएको प्रश्न र प्रचण्डको मनोविज्ञान
जनार्दनले प्रचण्डको सक्रिय नेतृत्व प्रत्यक्ष निर्वाचनबाहेक स्वीकार गर्न नसकिने स्पष्ट सन्देश दिइसकेका छन् । विधान सम्मेलनबाट पारित निर्णयमा प्रचण्डले छेडखानी गरेको भन्दै पहिलो पटक प्रचण्डविरुद्ध आक्रामक पेश भएका जनार्दन प्रचण्ड प्रधानमन्त्री बनेदेखि नै सन्तुलित सम्बन्ध स्थापित गराउन सकेका छैनन् ।
प्रचण्डलाई घुर्की धम्की देखाएरै भएपनि सत्ता हात पार्दै आएका जनार्दन पछिल्लो समय प्रचण्डको नजरमा प्रतिपक्षमा छन् । यस्तोमा जनार्दनले पनि प्रचण्डले परिवारवाद लाद्न खोजेकोदेखि विभिन्न विषय उठाएर नेतृत्व हस्तान्तरण गर्नैपर्ने र त्यो उनले चाहेको व्यक्तिलाई गर्न सक्ने भनेका छन् ।
यता प्रचण्ड भने आफै वामपन्थी एकतासहितको नेतृत्व गर्ने रहरमा छन् । प्रचण्डले जनार्दन र वर्षमानबीचमा खेल्दै पार्टीमा सन्तुलन कायम गर्ने र आफूले शक्तिको उपयोग गर्ने गर्दै आएका छन् । पछिल्लो समय महासचिव बनाउदा समेत प्रचण्डले यहि नीति अख्तियार गर्दा जनार्दन र वर्षमान उपमहासचिवमा सीमित बन्नु प¥यो ।
माओवादी फुटाएर फेरि एकतामा आएका देव गुरुङलाई महासचिव बनाएको विषयमा जनार्दनले सार्वजनिक रुपमै असन्तुष्टी राख्ने गरेका छन् भने प्रचण्डसँग समेत यसबारे तीव्र असन्तुष्टी पोख्ने गरेको बताइन्छ । यही परिवेशका बीच प्रचण्डले जनार्दनलाई प्रतिपक्षमा पुगिसकेको ठान्दै त्यहि अनुसारको मनोविज्ञानअनुसारको व्यवहार गरिरहेको टिप्पणी माओवादीभित्रै हुने गरेको छ ।
जनार्दनको चित्त दुखाई
प्रचण्ड तेश्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दै गर्दा जनार्दनले खास भूमिका खेल्न सकेनन् । कांग्रेससँग नै गठबन्धन हुनुपर्ने बुझाईमा रहेका जनार्दनलाई अर्को पक्षले एमालेसँग मिलाएपछि केहि असन्तुष्टी थियो । तर, जेनतेन चलिरहेको सम्बन्ध प्रचण्डले प्रधानमन्त्री हुँदा शक्तिको दुरुपयोग गर्दै आफूलाई पक्राउ गराउन खोजिएको आरोप जनार्दनले लगाउने गरेका छन् ।
तत्कालीन समयमा अर्थमन्त्री रहेको बेला एकजनाले अमेरिकाबाट ल्याएको रकमका लागि गभर्नरलाई पत्राचार गरेको विषयलाई लिएर आफूलाई पक्राउ गराउन खोजिएको ठानेका जनार्दन त्यसपछि निरन्तर प्रचण्डको प्रतिपक्षमा उभिन पुगेको माओवादी केन्द्रभित्रै चर्चा छ ।
प्रचण्डले आफूमाथि राज्य शक्तिको दुरुपयोग गर्न खोजेको भन्दै चित्त दुखाएका जनार्दनले नयाँ विकल्प र बाटो यहि कारण समातेको चर्चा छ ।
