
काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन् । उनले यसका लागि दुई वर्ष कुर्नुपर्ने बताएका हुन् ।
आईतवार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोईरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भए पनि अहिले नै संशोधन गर्न नसकिने बताए । उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाई बहुमत चाहिने भए पनि सरकारको बहुमत नपुग्ने बताए ।
दुवै सदनमा बहुमत पुर्याउनका लागि दुई वर्ष कुर्नुपर्ने उनकाे भनाइ छ । नेता कोईरालाले संविधान संशोधन गर्दा नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्ने बताए । उनले अहिलेको लडाईं प्रतिनिधित्व, पहिचान र पहुँचको लडाँइ भएको भन्दै संविधान संशोधनमा यो कुरालाई पनि विचार पुर्याउनुपर्नेमा जोड दिए । प्रतिनिधि सभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउनेगरी संविधान संशोधन गरिने उनकाे भनाइ छ ।
'राजनीतिज्ञहरुले राजनीति गर्ने हो । पैसा कमाउनलाई त्यहाँ(सरकारमा) जाने होइन भन्ने कुरा एकदम बुझिने भाषामा हामीले भन्न सक्नुपर्छ । मैले हाम्रा साथीहरु जो मन्त्री हुनुभएको छ, उहाँहरुलाई मैले के भनेको छु भने तिमीहरु कस्तो गर्छौ ?' उनले भने, 'भोलि काम कति सक्छौँ ? सक्दैनौ ? त्यो आफ्नो ठाउँमा छ । तर मन्त्रिपरिषद्बाट निस्किदाँखेरी निष्कलङ्क निस्क । त्यति सबैभन्दा ठूलो कुरा हो । तिमीहरु निष्कलङ्क निस्कियौँ भने नेपाली कांग्रेसको इज्जत रहन्छ । राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने छ । तर हामीले यो पनि बुझ्नुपर्ने हुन्छ । अहिलेको लडाईं प्रतिनिधित्व, पहिचान र पहुँचको लडाईं पनि हो । ०६२÷०६३ को आन्दोलनले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाँइ पनि भएको छ भन्ने कुरा पनि हामीले दिमागमा राखौँ । त्यसकारण निर्वाचन प्रणालीमा सबै जातजातिहरुलाई समेट्नेगरी तर बहुमत आउनेगरी कसरी गर्न सकिन्छ त्यतातिर सोच्नुपर्यो । कसरी गर्दा उनीहरुको प्रतिनिधित्व पनि संसदमा सुनिश्चित हुन्छ । र बहुमतको सरकार पनि बन्नसक्छ । त्यतातिर पनि ध्यान पुर्याउँ । समावेशी चरित्रको संविधानलाई आगाध नपुग्नेगरी बनाऔँ भन्नेछ । संविधान अहिले नै संशोधन हुन्छ भन्ने कुरापनि दिमागबाट हटाइदिनुस् । त्यो हुन सक्दैन भन्ने कुरा पनि हामीले बुझौँ । किन हुन सक्दैन भने प्रतिनिधि सभा र राष्ट्रिय सभा मिलाएर दुई तिहाई बहुमत चाहिन्छ । राष्ट्रिय सभामा यो सरकारको बहुमत पुग्दैन । दुई वर्ष कुर्नैपर्ने हुन्छ । संशोधन गर्दाखेरी संविधानलाई सुधार गर्ने क्रममा माओवादी लगायत अन्य राजनीतिक दलहरुलाई पनि हामीहरुले साथ लिएर जानुपर्छ ।'
कुनै राजनीतिक दलविशेषको संविधान हुँदैन भन्ने कुरा बुझ्न जरूरी रहेकाे उनकाे भनाइ छ । नेपाली जनताको संविधानलाई सबै राजनीतिक दलहरुले स्वीकार गरेको हिसाबले मात्र संशाेधनमा जान सकिने उनले बताए । राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनको लागि नेपाली कांग्रेस र नेकपा(एमाले) एक ठाउँमा उभिएकाे पनि उनले बताए ।