काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्नेकुरा सह्य नहुने बताएको छ । मंगलवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो बारेमा पार्टीको धारणा बनाएको हो ।
बैठकमा भ्रष्टाचारसम्बन्धी कानून बनिरहेको र त्यसमा हदम्याद राख्नेकुरा कदाचित राजनीतिक दलहरुले गरिरहेको भन्दै रास्वपालाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताउनु भयो । उनले भ्रष्टाचारको मुद्दामा कुनै पनि बेला भ्रष्टाचारको आशंका भए मुद्दा चलाउनुपर्ने बताए ।
तर निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जानेगरी राजनीतिक दलहरुले गम्भीर त्रुटि गरिरहेको उनकाे भनाइ छ । रास्वपाले हदम्याद राख्न नहुनेमा अडान कायम राखेकाे छ । याे कुरा संसदमा पनि उठाइने परियारले बताए । उनले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले जलन सम्बन्धी गैरसरकारी विधेयक संसदमा आज नै दर्ता गर्नेगरी छलफल भइरहेको पनि जानकारी दिए ।
उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सर्वसहमतिले प्रतिनिधि सभामा प्रश्तुत गर्नेगरी समितिबाट पास भएको र त्यसबारेमा नेताहरुले बोल्दा समर्थनमा बोल्नेबारेमा पनि छलफल भएको बताए । साथै बैठकमा आगामी दिनमा संसदको गतिविधिहरु कसरी गर्ने, कसरी अगाडि जाने भन्ने मुद्दाका विषयहरुमा पनि छलफल भएको उनले जानकारी दिए ।
