News 24 Television
प्रधानमन्त्री ओलीको कामबाट गगन थापा खुसी

काठमाडाैँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको काम-कारबाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्रीले मेहनत गरेको देख्दा खुशी लागेको थापाको टिप्पणी छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले उक्त खुसी व्यक्त गरेका हुन् । सरकारका मन्त्रीहरुलाई भने २ वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने उनले बताए । कामको आधारमा मन्त्रीहरुको प्रशंसा र आलोचना दुवै गर्ने पनि उनले बताए ।

मन्त्रीहरुले गलत काम गरे आफूले आलोचना गर्ने बताउँदै थापाले मन्त्रीहरुलाई आफ्नो कार्यकाल हेरेर कार्ययोजना बनाउन  सुझाव समेत दिए । सरकारका मन्त्रीहरुलाई काम गर्नका लागि आफूले सदा साथ दिने महामन्त्री थापाले प्रतिबद्धता छ ।

'प्रधानमन्त्रीले मेहनत गरेको देखिराखेको छु । खुशी लागेको छ,' उनले भने, 'मन्त्रीजीहरुले शुरुमा खादामाला लगाउनुभएको भएपनि बिस्तारैबिस्तारै कार्य योजनाहरु बनाई राख्नुभएको छ । शुरुशुरुमा त्यस्तै हुन्छ । हामीलाई पनि त्यही थियो । तर मेरो अनुभव छ । यो २४ महिनाका लागि मन्त्री हुनुभएको छ । यो समय भनेको सानो समय होइन । नौ महिनाको मन्त्री हुँदाको मेरो अनुभव छ । यो समय भित्र धेरै गर्न सकिन्छ । त्यसैले म सम्माननीय प्रधानमन्त्रीजीलाई त उहाँ भएको बेलामा नै भनौला । तर म समाननीय सभामुखमार्फत सरकारमा रहेका मन्त्रीहरुलाई भन्न चाहन्छु–हामी सबैको शुभेच्छा छ । हाम्रो साथ छ । हामी आतुर छौं तपाईहरुलाई मद्दत गर्नका लागि । हामी कामको आधारमा प्रशंशा गर्न चाहन्छौ । तर हामी प्रश्न पनि गर्छौ । गलत गर्न भयो भने हामी आलोचना पनि गर्छाैं । यो २४ महिनामा एक महिना गयो । आफ्नो मन्त्रालयमा २४ महिना भित्र के गर्ने भनेर योजना बनाउनैपर्छ ।'

महामन्त्री थापाले एक महिनाको अवधिमा कार्ययोजना बनाउने काममा मन्त्रीहरुले समय व्यतित गरेको आफूले बुझेको बताउँदै अब काममा तिब्रता दिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update