News 24 Television
प्रचण्डको चिन्ता : शान्ति प्रक्रिया टुंग्याउने बेला व्यवस्थापनमा नै संकट पर्ने हो कि !

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरु समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन् । कानुन बनाउने काममा सफलता मिले पनि व्यवस्थापन पक्षमा नै संकट पर्ने हो कि भनेर चिन्ता समेत व्यक्त गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयबारे सम्बोधन गर्दै उनले संविधान जारी हुँदासम्म राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गरेझैँ अब पनि एक भएर अघि बढ्नुपर्ने बताए । उनले संविधानको कार्यान्वयनमा एक हुन नसकेको स्वीकार गरे ।

संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौति, जनताका असिमित आकांक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा हुन नसकेको उनले बताए । अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने बेला व्यवस्थामा नै संकट पर्नसक्ने चिन्ता व्यक्त गरे । अहिले समाजमा अराजकता फैल्याउने, सामाजिक, नैतिक मूल्य, मान्यताका सीमा भत्काएर सभ्यताका, संस्कारका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोजेको बताए । 

'हामीले संविधान जारी हुँदासम्म जसरी राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गर्यौँ, यसको कार्यान्वयनमा भने हामी एक हुन सकेनौँ । संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौति, जनताका असिमित आकंक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा भएका छैनन्,' उनले भने, 'संविधान जारी भएपछि भने उच्चस्तरका राष्ट्रिय सहमति आवश्यक थियो । तर त्यो जनताले अपेक्षागरेअनुसार पूरा गर्न सकिएको छैन । अहिले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने बेला व्यवस्थामा नै संकट पर्ने हो की, फेरि शान्ति सम्झौतामा हामीले गरेको सहमतिमै धरापमा पर्ने हो की भन्ने प्रश्न पनि छ । म यस सन्दर्भमा पनि सम्माननीय प्रधानमन्त्रीजी र सभापति शेरबहादुर देउवाजीलाई धन्यवाद भन्न चाहन्छु । तपाईंहरुले भनेको जस्तै अहिले समाजमा एउटा प्रवृत्ति देशमा अराजकता फैल्याउने, सबै सामाजिक, नैतिक मूल्य, मान्यताका सीमा भत्काएर सभ्यताका, संस्कारका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोज्दैछ । यसलाई प्रतिवाद गर्न यो परिवर्तन ल्याउने सबै राजनीतिक दलहरु, सबै संघसंस्थाहरु लोकतन्त्रप्रति विश्वास गर्ने, साँचो अर्थमा विश्वास गर्नेहरु समझदारीकासाथ अघि बढ्नुपर्ने आवश्यकता छ ।'

अध्यक्ष दाहालले संविधानको रक्षा जनताका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढिकरणको लागि र जनतालाई थप अधिकार सम्पन्न बनाउन सबैसँग मिलेर जान तयार रहेको बताए । चुनौतिको सामना गर्न एकता बाहेक अर्को हतियार नरहेको बताउँदै उनले अहिले पनि शहीद परिवारले न्याय पाइसकेको स्थिति नरहेको र बेपत्ता नागरिकका परिवार शान्तिले सुत्न नपाएको बताए ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update