News 24 Television
दुई दलीय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैन : माधव नेपाल

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले दुई दलिय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष उनले संविधान संशोधनमार्फत देशमा दुई दलिय व्यवस्था ल्याउन खोजिएको भन्दै यसले देशलाई नोक्शानतर्फ लैजाने  बताए ।

दुई दलीय शासन व्यवस्था कसैले नसहने उनकाे भनाइ छ । बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको भन्दै उनले कुनै किसिमको तानाशाही नेपालमा चल्न नसक्ने बताए । नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएको उनकाे भनाइ छ । 

'प्रधानमन्त्रीले के कुरा ल्याउनुभयो भनेदेखि अहिले त हामीले संविधान संशोधन गर्न खोजिरहेका छौँ । क्या मिठा कुरा छ । अनि मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलिय शासन ल्याउन खोजेको हो ? दुई दलिय शासन नेपालमा आउन सक्दैन,' अध्यक्ष नेपालले भने, 'हामी आउन दिँदैनौँ । बहुदलिय व्यवस्था हामीले ल्याएका हौँ । बहुदलिय व्यवस्था यहाँ रहन्छ । बहुदलिय लोकतन्त्र, गणतन्त्रलाई, संघीय लोकतन्त्रलाई, हामी अझै समृद्ध बनाउन चाहन्छौँ । अनुभवको आधारमा त्रुटी, कमजोरीलाई सुधारेर । तर कति समय पछि ? के छलफलको विषय बनाउनु पर्दैनथ्यो ? बोलाउनु पर्दैनथ्यो ? मध्यरातमा कागजमा सही गर्नुपथ्र्यो ? यसबाट नियत के हो भन्ने कुरा बुझ्न सकिन्छ । हाम्रो शेरबहादुर(शेरबहादुर देउवा) माननीय पनि धेरै सोझो हुनुहुन्छ । उहाँले त्यति बुझ्दै बुझ्नुहुन्न जस्तो पनि लाग्छ । बुझ्न त फेरि सिपालु हुनुहुन्छ । ख्याल गर्नुस्, दुई दलिय शासनको कुराले देशलाई नोक्सान पु¥याउँछ । कोही सहनेवाला छैनन् । यसअर्थमा म सुनिरहेको छु ठुल्ठुलो प्रवचनहरु दुई दलिय प्रणाली नेपालमा स्थापित गर्नुपर्छ । अरु पार्टीको कुनै काम छैन । त्यसको कुनै भुमिका हुँदैन । महत्व छैन । यो सबै कसैलाई लागेको छ भने त्यो भ्रमबाट मुक्त हुनुस् । अहिले एउटा घण्टी बजेको छ(यो रास्वपाको भनेको होइन है) । बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको छ । कुनै किसिमको तानाशाही नेपालमा चल्न सक्दैन । टिक्न सक्दैन । प्रतिगमनको, अधिनायकवादको, दुई दलिय शासनको, दुई दलिय नाममा एक दलिय शासनमा जाने कुरा नेपाली जनतालाई स्वीकार्य छैन ।’

उनले नेपाललाई शान्ति प्रक्रियामा ल्याउन आफूले पनि महत्वपूर्ण भुमिका खेलेको भन्दै त्यसको चर्चा समेत गरे । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने नाममा प्रमुख तीन राजनीतिक दलहरुले मात्रै चोचोमोचो नमिलाउन आग्रह पनि गरे । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update