News 24 Television
प्रचण्डमाथि जनार्दनको तीर, राजनीति सकिने पीर  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झण्डै तीन दशकदेखि पार्टी नेतृत्वमा छन् । केही समयअघिसम्म पनि पार्टीमा नेतृत्वको विकल्प नरहेको बताइरहेका प्रचण्डविरुद्ध धावा बोले उपमहासचिव जनार्दन शर्मा । 

माओवादी बैठकमा पार्टी नेतृत्वको विकल्प खोज्नुपर्ने लिखित प्रस्ताव नै अघि सारेपछि शर्माको राजनीतिक भविष्यको लेखाजोखा शुरु भएको छ । 

माओवादी केन्द्रको स्थायी कमिटी वैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले नेतृत्वको विकल्प खोज्नुपर्ने भन्दै लिखित प्रस्ताव नै पेश गरेपछि वैठकले कस्तो निर्णय गर्छ भन्ने प्रतिक्षा थियो । 

बैठक चल्दै गर्दा केही दिनअघि नै प्रचण्डले आफूलाई नभई र पत्रकारलाई टेन्सन भएको प्रतिक्रिया दिएका थिए । तर एकसाता भन्दा बढी समयसम्म चलेको बैठकको अन्तिम दिन पनि प्रचण्डले उस्तै प्रतिक्रिया दिए । 

उपमहासचिव शर्माले उठाएका कुराहरु बैठकमा हल भैसकेको प्रचण्डको भनाई थियो । 

अध्यक्ष प्रचण्डले जनार्दनले उठाएको विषय हल भइसकेको दाबी गरे पनि दाहाल निकटकै मानिएका प्रवक्ता अग्नि सापकोटाले भने छलफलकै क्रममा रहेको बताए । उपमहासचिव शर्माले उठाएका कुराहरु छलफलको क्रममै रहेकाले कतिपय कुरा निश्कर्षपछि मात्रै बाहिर आउने सापकोटाको भनाई छ । 
 
शर्माको दस्तावेजले माओवादी केन्द्रमा ठूलै हलचल भएको सचिवालय बैठकको निर्णयले नै स्पष्ट गरेको छ । उपमहासचिव जनार्दनले उठाएका वैचारीक राजनीतिक सवालहरुलाई पार्टीको दस्तावेजमा समेटेर जाने र सातै प्रदेशमा छलफल चलाउने र प्रदेश स्तरको केन्द्रीय परामर्श समितिको बैठकमा अध्यक्षदेखि उपमहासचिवको उपस्थिति रहेन निर्णय वैठकले गरेको छ । यद्यपि फरक मतकै कारण माओवादी भित्र आगामि दिनमा जनार्दन एक्लीदै जाने सम्भावनाको पनि आंकलन हुन थालेको छ । 

माओवादी आन्दोलनको इतिहास हेर्दा प्रचण्डको विपक्षमा उभिने वा विपरीत विचार लैजानेहरु कि उनीसँग आत्मसमर्पण गरेका छन् कि त पार्टीको मूलधारबाट अलग पारिएका छन् । त्यसैले गर्दा अब त्यसको भूमरीमा उपमहासचिव शर्मा पनि पर्न सक्ने विश्लेषण हुने गरेको छ । तत्कालिन युद्धकै समयमा प्रचण्डको उत्तराधिकारी आफैलाई घोषणा गरेका तर श्रम शिविरमा मारिएका यानप्रसाद गौतम ‘आलोक’ देखि माओवादी छाडेर अलग बाटोमा हिँडिरहेका नेताहरुलाई लिन सकिन्छ । 

फरक मत राखेकै आधारमा अहिलेसम्म प्रचण्डबाट मोहन वैद्य, सीपी गजुरेल, बाबुराम भट्टराई, रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द विप्लव, रवीन्द्र श्रेष्ठ, मणि थापा, गोपाल किराँती लगायतका नेता प्रचण्डबाट अलग छन् । तर माओवादी नेताहरु भने त्यस्तो परिस्थिति नआउँने आँकलन गर्छन् ।  

विगतका इतिहास हेर्दा पार्टी अध्यक्ष प्रचण्डसँग विमति राख्ने र चुनौती दिने नेताहरु पार्टी भित्र टिक्न सकेका छैनन् । यस पटक जनार्दन पार्टी भित्रै रहन्छन् वा विगतकै अरु नेता जस्तो पाखा पारिन्छन् ? त्यो भने हेर्न बाँकी छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update