काठमाडौं । सत्तामा रहँदा होस् या बाहिर हुँदा, जब आफुमाथि संकट आउँछ, तब पार्टी एकता, गठबन्धन वा मोर्चा बनाउन नेताहरु कस्सिहाल्छन् । यस्तोमा माओवादी केन्द्रका अध्यक्ष पनि कोहीभन्दा कम छैनन् ।
सत्ता बाहिर रहँदा राष्ट्रिय राजनीतिमा छायाँमा परेको महशुष गरिरहेका उनै प्रचण्डले यतिबेला नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको पासा फ्याकेका छन् ।
प्रतिनिधिसभाका दुई ठूला दल मिलेर सरकार बनाएपछि अहिले सानातिना दलहरुको चुरीफुरी सेलाएको छ । कांग्रेस एमाले मिल्दै भारी बहुमत पुग्ने सत्ता गठबन्धनमा जसपा, जनमत जस्ता पार्टीहरु पनि मिसिएपछि सरकारसँग दुई तिहाई छ । संसदीय आँकडा अनुसार बलियो सरकार रहेका बेला केही समयअघिसम्म सत्ताको केन्द्रमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत ओझेलमा परेका छन् ।
बालुवाटारबाट खुमलटार पुगेका प्रचण्ड केही दिन खुमलटार भित्रै बसेर योजना बनाउन व्यस्त भए । त्यसयता पनि उनी बाहिर खासै सक्रिय छैनन् ।
यसैबीच उनी पार्टीभित्रै पनि कमजोर देखिए । ३ दशकदेखि पार्टी हाँकीरहेका प्रचण्डलाई स्थायी कमिटि बैठकमै उनको नेत्तृत्वमाथि प्रश्न उठाएपनि उनी गम्भिर संकटमा छन् । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक दस्तावेज नै जारी गरेर प्रचण्डले पार्टी नेत्तृत्व छोडेर तेस्रो पूस्तालाई हस्तान्तरण गर्नु भनेपछि पार्टीभित्र पहिलोपटक प्रचण्ड गम्भिर निशानामा परे ।
माधवको साथ खोज्दै
सत्ताबाट बाहिरिनुको पीडा कम नहुँदै पार्टीभित्रै चुनौति व्यहोर्नु परेपछि प्रचण्ड नेकपा एकीकृत समाजवादीसँग नजिकिएका छन् । माओवादी केन्द्र र नेकपा एसबीच पार्टी एकता गर्ने गरी छलफल अगाडि बढेको छ ।
पार्टी एकताकै विषयलाई निष्कर्षमा पु¥याउन प्रचण्ड र माधव नेपालबीच दुई चरणको भेटवार्ता भइसकेको छ । विहिवार प्रचण्ड र माधवबीच खुमलटारमा छलफल भयो । यसअघि गएको सोमवार पनि प्रचण्ड र माधवबीच कोटेश्वरमा भेटवार्ता भएको थियो ।
एमालेबाट टुक्रिएर नेकपा एस गठन गरेका माधव नेपालको हैसियत पनि राष्ट्रिय राजनीतिमा दमदार छैन । भएका आफुबाहेकका ९ सांसदहरुले कतिबेला साथ छोड्ने हुन् टुंगो छैन । त्यसैले पनि माधवका लागि यतिबेला प्रचण्ड आड भरोसा हुन् भने प्रचण्डलाई पनि माधव सहारा हुन् । पार्टी एकताका लागि माधव पनि सकरात्मक नै देखिएका छन् ।
त्यसो त नेकपा एसको प्राथमिकता एमालेसँग एकता गर्ने थियो । तर ओली र माधवबीचको तिक्तताले यो विषयलाई अगाडि बढाउनै नसक्ने अवस्था छ । झन पछिल्लो समय नेकपा एसलाई नै फुटाउनेतर्फ ओली अग्रसर भएपछि माधव नचाहँदा नचाहँदै प्रचण्डसँग मिल्नु पर्ने बाध्यतामा छन् । तर नेकपा एसभित्र माओवादीसँग एकता गर्ने कुरामा पनि मतभेद छ ।
पार्टीगत केही मतभिन्नताकै बीचपनि दुई दलबीच छलफल सकरात्मक ढंगले बढिरहेको छ । पार्टीको नाम र चुनाव चिन्ह के राख्ने भन्नेदेखि अवसर आउँदा माधव नेपाललाई प्रधानमन्त्री बनाउनेसम्मको सहमतिको खाका तयार भइसकेको बाहिरिएको छ । प्रचण्डले बिहिवार मात्रै पनि पार्टी एकताकै विषयमा विप्लपसँग समेत छलफल गरेका थिए ।
