News 24 Television
पार्टी एकताकै पक्षमा ‘प्रचण्ड’, विप्लव र माधव जोड्ने दाउ

काठमाडौं । साउन २५ गतेदेखि बसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकमा पार्टी नेतृत्वमाथि गम्भीर प्रश्न उठ्यो । उपमहासचिव जनार्दन शर्माले भने लिखित दस्तावेज नै जारी गरेर प्रचण्डको विकल्प खोजे । पार्टी नेतृत्व नै तेस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने भन्दै प्रचण्डको विकल्प खोजिएपछि माओवादी फुट्नेसम्मको चर्चा भयो । 

पार्टीभित्रैबाट चुनौति आएपछि अध्यक्ष प्रचण्ड संकटमा परे । तर बिहीबारको स्थायायी कमिटि बैठकपछि भने अध्यक्ष प्रचण्डले नै पार्टी नफुट्ने दावी गरेका छन् । बरु पार्टी झन एकताबद्ध भएर जाने अवस्थामा रहेको प्रचण्डले प्रष्ट पारे ।

खासगरी पार्टी उपमहासचिव जनार्दन शर्माको राजनीतिक दस्तावेजपछि माओवादीमा हलचल मच्चिएको थियो । तर पार्टी भित्र घनीभूत छलफलका क्रममा उपमाहासचिव शर्माले जे–जति उठाइएको विषयहरु नेतृत्वलाई नै सबल र सुदृढ बनाउकै लागि ल्यएको बताएपछि प्रचण्डमाथिको संकट तत्काललाई टरेको छ । 

त्यस्तै  अध्यक्ष प्रचण्डले पनि जनार्दनले पार्टी निर्माणसम्बन्धी पेश गरेको प्रस्तावलाई प्रदेशस्तरसम्म छलफलका लागि लैजाने आश्वसन दिएका छन् ।  

मुख्यतः शान्ति प्रत्रियापछि ०६४ मा भएको पहिलो आम निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बनेको थियो । तर त्यसयताका निर्वाचनहरुमा माओवादी सँधै तेस्रो दल बन्दै आएको छ । 

सँधै सत्ता राजनीतिमा रुमालिएको माओवादी अहिले जम्मा ३२ सिटमा खुम्चन पुगेको छ । पार्टी निरन्तर कमजोर भएपछि संगठन मजबुदीकरण गर्न माओवादी अब विभिन्न संयन्त्रबाट देशभर खटिने भएको छ । 

केही महिना अघिसम्म मात्रै सत्ता नेतृत्वमा रहेको माओवादी केन्द्र अहिले प्रतिपक्षी कित्तामा पुगेको छ । संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र नेकपा एमालेको समीकरण बनेपछि माओवादीले सरकार छाड्नु परेको थियो । 

पछिल्लो समय माओवादीले पार्टी नीति तथा सिद्धान्त भूलेको र जनताबाट टाढा भएको आरोप खोपिरहेको छ । 

जसका कारण पनि पार्टीको जनाधार घटेको बताइन्छ । तर अब प्रचण्ड यही दुर्वल पक्षलाई सुधार्न जनतामा गएर पार्टीलाई अझ सशक्त बनाउने रणनीतिमा पुगेका हुन् । तर माओवादीलाई जनताले कतिको साथ दिन्छन्, यो प्रतिक्षाको विषय बनेको छ । 


पार्टी एकता प्रचण्डको प्राथमिकता 

निरन्तर क्षयीकरण भोगिरहेको माओवादीले विचार मिल्ने दलहरुसँग पार्टी एकताको ढोका खुला मात्रै राखेको छैन । एकताका लागि विभिन्न दलहरुसँग लभिङ पनि गरिरहेको छ । 

माओवादी सुरुवातमा नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा तथा जसपा नेपालसँग ‘समाजवादी मोर्चा’मार्फत एक ठाउँ उभिएको थियो । तर यो मोर्चामा हाल जसपा नेपाल भने सक्रिय छैन । यद्यपि माओवादी केन्द्र, नेकपा एकीकृत र नेकपा भने मोर्चामा सक्रिय भइरहेका छन् । यस्तोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र नेत्र विक्रम चन्द विप्लवलाई पार्टी एकताको प्रस्ताव गरिरहेका छन् । 

विहीबार मात्रै स्थायी कमिटी बैठकअघि अध्यक्ष प्रचण्डले माधवकुमार नेपाल र विप्लवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । 

उक्त भेटमा पनि प्रचण्डले दुवै नेताहरुसँग पार्टी एकताकै विषयमा छलफल गरेको बताइन्छ । प्रचण्डले केही दिन अघि मात्रै माधव नेपाललाई पार्टी एकताको प्रस्ताव राख्दै प्रधानमन्त्री र दलको नेता बनाउने आश्वसन दिएका थिए ।

त्यस्तै पछिल्लो भेटमा प्रचण्डले विप्लवलाई पनि एकताकै प्रस्ताव राखेको बुझिएको छ । तर विप्लव तत्काल पार्टी एकताको पक्षमा देखिएका छैनन् । विप्लव समाजवादी मोर्चालाई नै सक्रिय बनाएर केही समयपछि मात्रै एकता गर्ने मुडमा छन् । तर पछिल्लो समय संसदीय राजनीतितर्फ नै लम्किने प्रयन्तमा रहेका विप्लव निकट भविष्यमै माओवादीसँगको एकतामा आउने संभावना बढी छ । 

संगठन मजबुदीकरणमा लागेका अध्यक्ष प्रचण्डले माधव र विप्लवलाई आउँदो ८४ को आमनिर्वाचन अघि नै पार्टी एकीकरणमा ल्याउने संभावना बलियो छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ०६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update