काठमाडौं । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएदेखि फुटहरु हुँदै आएका छन् । कहिले फुट र कहिले एकताको इतिहास बोकेको कम्युनिस्ट पार्टी अहिले दर्जन बढी टुक्रामा छन् । कहिले दक्षिणपन्थी त कहिले प्रतिगमनकारीजस्ता आरोप लगाउँदै कम्युनिस्ट पार्टीहरु विभाजित हुने गरेका छन् ।
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पनि कम्युनिस्ट पार्टीहरु फुट र एकतामा अघि बढिरहे । पछिल्लो समय कम्युनिस्ट पार्टीहरुमा शक्ति क्षयीकरण हुँदै गएपछि फेरि एकताका पहलहरु तीब्र पारिएका छन् ।
शक्ति क्षीण बन्दै गएपछि समाजवादी मोर्चा निर्माण गरेर अगाडि बढेका माओवादी केन्द्र सहितका साना कम्युनिष्ट पार्टीमा अहिले पार्टी एकताको बहस अगाडि बढेको छ । विशेषगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीको पुनर्गठन आवश्यक भएको भन्दै यसतर्फ चासो बढाएका छन् ।
त्यसमा नेकपा एसका अध्यक्ष माधव नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र महिन्द्र राय यादव समूहको नेपाल समाजवादी पार्टी पनि सहमत देखिन्छन् । देशभक्त प्रगतिशिल शक्तिहरुको मोर्चा आवश्यक रहेको र त्यसका लागि बृहत्त बामपन्थी एकीकरण आवश्यक भएकाले जनचाहना अनुसार पार्टी एकताबारे बृहत छलफल भइरहेको माओवादी नेता अग्नी सापकोटा बताउँछन् ।
विगतमा पनि शक्ति क्षीण बन्दै जाँदा कम्युनिष्ट पार्टीको एकता भएको इतिहास छ । तर ती एकता लामो समय सम्म टिक्न सकेका छैन । नेतृत्वको अहमता, स्वार्थ र ब्यक्तिगत इगोका कारण कम्युनिस्ट एकता लामो समय टिक्न नसकेको हो । संसदीय जोड घटाउका कारण थोरै सिट भएका साना दलहरु पनि सत्ता निर्माणमा निर्णायक बनिरहँदा असारको तेस्रो साता कांग्रेस र एमालेबीच नयाँ सत्ता समिकरण बन्यो ।
जसले गर्दा संसदमा तेस्रो र छैठौं दल भएर पनि सत्ताको स्वाद चाखिरहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई झड्का लाग्यो । त्यसैले उनीहरु अब पार्टी एकता गरेर शक्ति विस्तारको प्रयासमा लागेका छन् । उनीहरुले अहिले कम्युनिस्ट पार्टी पुनर्गठनको नयाँ रुप दिन खोजिरहेका छन् ।
कम्युनिस्ट पार्टीहरुको बृहत बाम एकता गर्ने भन्दै नेकपा एमाले र माओवादी केन्द्रले ७४ सालको निर्वाचनमा भाग लिएका थिए । एकता घोषणालाई भजाउँदै निर्वाचनमा सहभागी भएका दुई दलले नै स्थायी सरकारको अपरिहार्यताको पनि चर्चा चलाएका थिए ।
चुनावपछि भएको एकता दुई वर्ष पनि टिक्न सकेन । तत्कालिन नेकपाभित्र दुई लाइन पार्टी संघर्ष चुलिँदै जाँदा सर्वोच्च अदालतले नै दुई पार्टीलाई अलग गरिदियो । पुनः एमाले फर्किएका मध्ये माधव नेपाल समूह फेरि एमालेबाट पनि चोइटिएर नेकपा एकीकृत समाजवादी नामको नयाँ पार्टी बनायो ।
७९ सालको निर्वाचनमा राष्ट्रिय दलको समेत मान्यता नपाएको एकीकृत समाजवादी पनि आफ्नो अस्तित्व रक्षाको खोजीमा छ । उता, मोहन वैद्यबाट अलग भएको नेतविक्रम चन्द विप्लवको समूह पनि धर्मेन्द्र बास्तोला समूहको बर्हिगमनपछि समाजवादी मोर्चाको कभरमा संसदीय राजनीतिमा आउन खोजिरहेको छ ।
यस्तै, माओवादी केन्द्रकै निर्वाचन चिन्हबाट चुनाव जितेका महिन्द्र राय यादव समूह पनि बाबुरामबाट छुट्टिएपछि शाख जोगाउनकै लागि एकता चाहिरहेका छन् भने अघिल्लो निर्वाचनमा गठबन्धनमा चुनाव जितेको माओवादी केन्द्र पनि त्यस्तै अवसरको खोजीमा छ । वैचारिक दृष्टिकोण भन्दा पनि संकटमा पर्दै गएका यी दलहरुबीच आगामी ८४ सालको निर्वाचन लक्षित एकता नहोला भन्न सकिदैन ।
