काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य पात्रका रुपमा चिनिन्छन्, बेचन झा । २०७९ चैतमा नक्कली शरणार्थी प्रकरणमा तत्कालिन उपप्रधानमन्त्रीदेखि बहालवाल सचिवसमेत पक्राउ पर्दा फरार रहेका झा असार १४ गते राती पक्राउ परेका थिए ।
झाको पक्राउसँगै राजनीति नै उथलपुथल भएको थियो । उच्च तहका राजनीतिक दलका नेतासँगको कनेक्सन रहेको भनिएका झाको थुनछेक बहस शुक्रबार हेर्दा हेर्दैमा राखिएको छ । कसरी अगाडि बढ्दैछ त झाको अनुसन्धान ?
नक्कली भुटानी शरणार्थी प्रकरणमा २०७९ चैतमा तत्कालिन उपप्रधानमन्त्री, गृहमन्त्री, बहालावाला सचिवसहित तीन दर्जन बढी नेता कार्यकर्ता पक्राउ परेका थिए । उक्त प्रकरणमा तत्कालिन उपप्रधानमन्त्री एवम् एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, पूर्वसांसद आङटावा शेर्पा, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित ३० जनाविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ वटा कसुरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा चलाएको थियो । नक्कली शरणार्थी प्रकरणमा नेताहरु धमाधम पक्राउ पर्न थालेपछि बेचन झा फरार भएका थिए । गृहमन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डेले नै प्रहरीसँगको बयानमा उनै झामार्फत नै भुटानी शरणार्थी समस्याको गहिराईमा पुग्न सकिने बताएका थिए ।
झा कनेक्सन !
बेचन झा पक्राउ परेपछि नक्कली भुटानी शरणार्थी प्रकरणका राजनीतिक हाइप्रोफाइल कनेक्सन खुल्ने अनुमान गरिएको थियो । उनी पक्राउ परेको २ महिना हुनै लाग्दापनि हाइप्रोफाइल कनेक्सन प्रहरीले पत्ता लगाउन सकेको छैन । तर झामाथि गरिएको अनुसन्धानलाई शंकास्पद मानिएको छ ।
झाभन्दा अघि पक्राउ परेकाहरुको बयानबाट उनी यो प्रकरणको संकास्पद व्यक्ति लाग्छन् । नक्कली भुटानी शरणार्थी कोटामा अमेरिका जान खोज्नेहरुबाट उनले २ करोड रुपैयाँको चेक लिएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । यही प्रकरणमा अमेरिका पठाइदिने भन्दै ठगेको आरोपमा हिरासतमा रहेका रामशरण केसीसँग झाले २ करोडको चेक लिएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणका योजनाकारमध्येका एक सानु भण्डारीले भनेपछि झालाई हिमालय बैंकको चेक दिएको केसीले अनुसन्धानका क्रममा बताएका थिए । झाले मन्त्रीपरिषदबाट निर्णय गराउनका लागि २ करोड मागेको र आफुले चेक दिएको केसीले बयानमा भनेका थिए ।
विद्यूत प्राधिकरणले बिजुलीको ट्रान्सफर्मरदेखि एअर कण्डक्टरसम्मको काम गर्दै आएका झा भारतीयसहित विदेशी ठेकेदारहरूको नेपाल प्रतिनिधिको रुपमा पनि काम गर्ने गर्छन् । परराष्ट्रमन्त्री आरजु राणा, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, विमलेन्द्र निधि, महन्थ ठाकुर, माओवादी नेता टोपबहादुर रायमाझीलगायतसँग उनको राम्रो उठबस रहेको बताइन्छ ।
बेचन झालाई पक्राउ गरेपछि एकाएक राजनीतिक उथलपुथल भयो । उनी पक्राउ परेको ३ दिनमै एमाले र कांग्रेसबीच सहकार्य भई नयाँ सरकार बनाउने सहमति भएपछि माओवादी सत्ताबाट बाहिरियो ।
अहिले प्रहरी अनुसन्धानमा हाइप्रोफाइल कनेक्सन नभेटिएको भनिएपनि उनी पक्राउपछिको राजनीतिक दृश्यहरु भने सामान्य थिएनन् । झाको पक्राउ र त्यसपछि सरकार परिवर्तन भएको घटनालाई माओवादी केन्द्र लगायतका दलहरुले ठूलो षडयन्त्रको रुपमा बुझे । प्रचण्ड र रवि लामिछाने लगायतले संसदमै विभिन्न काण्डहरुको नाम लिदै कांग्रेस एमाले गठबन्धन किन र कसरी बन्यो भनेर बोले ।
देशको प्रधानमन्त्री र गृहमन्त्री भइसकेकाहरुले संसदमै इशारा गरेका झा झण्डै डेढ वर्षपछि पक्राउ पर्दा नक्कली शरणार्थी प्रकरणको धेरै कुरा भेद खुल्ने र अन्य राजनीतिक दल उच्च तहकै नेताहरुसमेत पक्राउ पर्ने भनेर गरिएको अनुमान अहिले व्यर्थ भएको छ ।
प्रहरी दबाबमा पर्दा अनुसन्धानको मुख्य विषय मोडिएको आरोप लाग्ने गरेको छ । अनुसन्धानको प्रहरी प्रतिवेदनकै आधारमा नयाँ तथ्यहरु बिना नै जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा अभियोग पत्र दायर गरेको थियो । तर सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रका आधारमा नक्कली शरणार्थी प्रकरणमा संलग्न भनिएका राजनीतिक दलका अन्य नेताहरुलाई राहत मिल्ने देखिएको छ ।
