काठमाडौं । दश वर्षे सशस्त्र संघर्ष हुँदै माओवादी शान्ति प्रक्रियामा आएको पनि १८ वर्ष भएको छ । तर माओवादी शान्ति प्रक्रियामा आएपछि भने माओवादी एक ढिक्का हुन सकेन ।
दश वर्षे सशस्त्र युद्धको कमाण्ड सम्हालेका पुष्पकमल दाहाल प्रचण्ड नै अहिले माओवादीको मुल पार्टीको नेतृत्वमै छन् । पार्टीमा उनका सबै प्रतिष्पर्धीहरु पाखा लागिसकेका छन् ।
तीन दशकदेखि पार्टी नेतृत्व सम्हाल्दै आएका प्रचण्डलाई यतिबेला पार्टी उपमहासचिव रहेका जनार्दन शर्माले नेतृत्व हस्तान्तरणको सुझाव दिएपछि पार्टीभित्रको बहस पेचिलो बनेको छ ।
एक साता भन्दा लामो समयसम्म चलेको नेकपा माओवादी केन्द्रको पछिल्लो स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा राजनीतिक प्रस्ताव पेश गरेपछि छलफल निकै पेचिलो बन्यो ।
पार्टीमा यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेजमा फरकमत राख्ने नेताहरु अहिले पार्टीमा छैनन् । तत्कालिन माओवादी पार्टीभित्र मोहन वैद्य ‘किरण’ र डा.बाबुराम भट्टराईले फरक मत राख्थे ।
पार्टीको राष्ट्रिय भेलाहरुमा प्रचण्डसहित, वैद्य र भट्टराईका फरक राजनीतिक प्रस्तावमा घनिभूत छलफल हुन्थ्यो । वैद्यलाई जडसुत्रवाद र भट्टराईलाई दक्षिणपन्थीको आरोप लाग्ने गर्दथ्यो । शान्ति प्रक्रियामा आएपछि दुवै नेता प्रचण्डको साथमा रहन सकेनन् । त्यसयता, प्रचण्ड पार्टीको निर्विकल्प अध्यक्ष रहँदै आए ।
शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी देशकै सबैभन्दा ठूलो पार्टी बन्यो । त्यसपछि पार्टी फुटको श्रृंखलाहरु शुरु भयो । त्यसपछिका निर्वाचनहरुमा क्रमशः पार्टी ओरालो लाग्दै गएको छ । तर पनि पार्टी र सत्ताको नेतृत्वमा प्रचण्डको विकल्पका रुपमा कोही खडा भएनन् ।
पछिल्लो स्थायी कमिटी बैठकमा भने पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रुपमै नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सारे । अब यो बहस केन्द्रदेखि प्रदेश हुँदै तल्लो कमिटीमा पुग्दैछ । तर प्रचण्डले भने शर्माको मत आफ्नो राजनीतिक प्रस्ताव भन्दा फरक नभएको बताइरहेका छन् ।
शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिश डाँडामा आयोजित पोष्टबहादुर बोगटी प्रतिष्ठानको कार्यक्रममा पनि प्रचण्डले शर्माको लिखित प्रस्ताव आए पनि भिन्न मत नभएको जिकिर गरे ।
शनिवार नै काठमाडौंमा पार्टीको रुकुम–काठमाडौं सम्पर्क मञ्चको दोस्रो जिल्ला सम्मेलन थियो । सम्मेलनमा प्रचण्डसहित जनार्दन पनि सहभागी थिए । यो कार्यक्रममा पनि प्रचण्ड र जनार्दनबीचको टकराव स्पष्ट झल्कियो ।
प्रचण्डलाई आफूले विचारका दृष्टिकोणले उच्चस्थान दिन खोजेकोमा नेतृत्वविरुद्ध आयो भनेर अत्याचार गर्न खोजेको स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डको साथै शर्माको राजनीतिक प्रस्तावका विषयमा पनि छलफल चलाउने स्थायी कमिटीले निर्णय गरिसकेको छ । जनार्दनले उठाएका वैचारीक राजनीतिक सवालहरुलाई पार्टीको दस्तावेजमा समेटेर जाने र सातै प्रदेशमा केन्द्रीय परामर्श समितिको बैठक राखेर छलफल चलाउने निर्णय भइसकेको छ ।
शर्माले पार्टी फुटाउन खोजेको भनी प्रचण्डले नै पार्टीभित्र हल्ला चलाएका थिए । स्थायी कमिटी वैठकमा यो विषय सामसुम पारिए पनि पार्टी पंक्तिमा फैलिँदै गएपछि शर्मा रुष्ट छन् ।
विगतमा माओवादी विभाजन हुनुभन्दा अघि प्रचण्डसँग वैचारिक रुपमा जुध्न सक्ने नेता भनेकै वैद्य मात्र थिए । वैद्यपछि भट्टराई हुँदै रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द, गोपाल किराँती लगायतका नेताहरु प्रचण्डबाट अलग भइसकेका छन् ।
अहिले नेतृत्व हस्तान्तरणको विषयमा शर्माले आवाज उठाइरहँदा उनी पनि पार्टीभित्र एक्ला वृहस्पति जस्ता देखिएका छन् । अब साँच्चिकै बहस तल्लो कमिटीसम्म नै पुगेर नेतृत्व हस्तान्तरण वा रुपान्तरणको दिशामा अघि बढ्छ, त्यो भने हेर्न बाँकी छ ।
