News 24 Television
आरजुको दिल्ली दौडाहाः राखी बाँध्ने अवसर 

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार दिल्ली प्रस्थान गरेकी छन् । भारतको औपचारिक निमन्त्रणामा दिल्ली प्रस्थान गरेकी राणाले भारतीय समकक्षी लगायतका भारतका उच्च राजनीतिक नेतृत्वसँग भेट गर्ने कार्यक्रम छ । आरजुको पाँच दिने भारत भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको कुटनीतिसँग हेरिएको छ । 

परराष्ट्रमन्त्री आरजु राणा भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली भ्रमणमा निस्किएकी छन् । 

भारतको पाँच दिने भ्रमणमा निस्किएकी राणाले भारतीय विदेशमन्त्री एस.जयशंकरका साथै अन्य उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री राणाको यो औपचारिक पहिलो विदेश भ्रमण हो ।

भारतीय समकक्षी जयशंकरसँग दुई देशको आपसी हित तथा द्विपक्षीय सम्बन्धकाबारेमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

पाँच दिने दिल्ली दौडाहाका क्रममा मन्त्री राणाले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने बताइए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटको कार्यक्रम भने तय भइसकेको छैन । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा गर्ने भारत भ्रमणका विषयमा कुराकानी हुने भएकाले भारत भ्रमणकै क्रममा मोदीसँगको भेटको समय मिलाउन सकिने बताइएको छ । मन्त्री राणासँगको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एशिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानाको पनि सहभागिता रहेको छ । 

चौथाइवालेसँगको सम्बन्ध 

परराष्ट्रमन्त्री राणाको यो भ्रमण रक्षा बन्धनको समय पारेर भएको छ । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग मन्त्री राणाको राम्रो सम्बन्ध छ । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला नेपाल आएका चौथाइवालेलाई देउवापत्नी राणाले रक्षा बन्धनको अवसरमा राखी बाँधिदिएकी थिइन् । 

त्यतिबेला २०७८ भदौमा चौथाइवालेले प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर आरजुको हातबाट राखी बाँधेका थिए । 

नेपालमा रक्षा बन्धनको महत्व ठूलो मानिन्छ भने भारतमा राँखी बाँध्ने प्रचलनलाई महत्वका साथ हेरिन्छ । आइतबार दिल्ली पुगेकी परराष्ट्रमन्त्री राणाले सोमवार भाजपा विदेश विभाग प्रमुख चौथाइवालेलाई राखी बाँधिदिने छिन् । यद्यपी राखी बाँध्ने कार्यक्रमलाई भने भ्रमण तालिकामा समावेश गरिएको छैन । 

ओली कुटनीति 

मन्त्री राणाको भारत भ्रमणसँगै प्रधानमन्त्री ओलीले भारत भ्रमणको औपचारिक निम्तो पाउने अपेक्षा गरिएको छ । यसअघि २०७२ सालमा संविधान निर्माणका बेला भारतले अघोषित नाकाबन्दी लगाएर चिढिएका बेला पनि मोदीले ओलीलाई रातो कार्पेट विछ्याएर सम्बन्ध विस्तार गरेका थिए । 

तेस्रो पटक प्रधानमन्त्री भएका ओलीले यो पटक भने पहिलो भारत भ्रमण गर्ने अवसर गुमेको छ । उनको पहिलो विदेश भ्रमण थाइल्याण्ड हुने भएको छ । 

आगामी भदौ १८ मा बिमस्टेक सम्मेलनमा भाग लिन ओली थाइल्याण्ड जाने कार्यक्रम छ । परराष्ट्रमन्त्री राणाको भारतसँगको राम्रो सम्बन्धलाई उपयोग गर्दै प्रधानमन्त्री ओलीले आगामी दशैंसम्ममा आफ्नो भारत भ्रमण तय गर्नेछन् । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update