काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा यतिबेला दिल्ली भ्रमणमा छिन् । भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा आइतबार भारत भ्रमणमा निस्किएकी राणाले भ्रमणको दोस्रो दिन समकक्षी जयशंकरसँग भेट गरेकी छन् । मन्त्री भएपछि पहिलो विदेश भ्रमणका क्रममा दिल्ली पुगेकी उनी भदौ ६ गते स्वदेश फर्किनेछिन् ।
आइतबार भारत भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री आरजु राणा देउवा राजनीतिक भेटघाटमा ब्यस्त रहेकी छन् । भारतीय विदेश सचिव एस. जयशंकरको निमन्त्रणामा पाँच दिने भारत भारत भ्रमणमा गएकी राणाले सोमवार भारतीय समकक्षी जयशंकरसँग भेट गरेकी छन् । जयशंकरसँगको भेट निकै फलदायी भएको राणाले बताएकी छन् । मन्त्री राणा र जयशंकरबीच द्विपक्षीय हित तथा नेपाल–भारत सम्बन्धनका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको पारस्परिक सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ । भारतीय समकक्षी जयशंकरसहित उच्च राजनीतिक तहमा भेटवार्ता गर्ने भनिए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटबारे औपचारिक कार्यक्रम तय भएको थिएन । यद्यपि राणाको यो भ्रमणका क्रममा भारतले उच्च महत्व दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली दुबै पटक नै प्रधानमन्त्री भएका बेला भारतसँगको सम्बन्ध सुमधुर हुन सकेको थिएन । ओलीले बेलाबेलामा दिने विभिन्न अभिब्यक्तिले गर्दा भारतसँगको सम्बन्ध सुमधुर हुन नसकेको हो । भारतले गरेको अघोषित नाकाबन्दीका कारण पहिलो पटक प्रधानमन्त्री हुँदा खरो रुपमा प्रस्तुत भएका ओलीलाई भारतले रेड कार्पेट विछ्याएर स्वागत गरेको थियो भने ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि पहिलो विदेश भ्रमण भारत नै रोजे । ओलीले दोस्रो पटक प्रधानमन्त्री हुँदा भारतसँगको सम्बन्धलाई सुधार गर्ने अवसरका रुपमा लिएका थिए । त्यसैले पहिलो विदेश भ्रमण भारतलाई नै बनाएका थिए । तेस्रो पटक प्रधानमन्त्री हुँदा भने ओलीले थाइल्याण्डको विमस्टेक सम्मेलनलाई पहिलो विदेश भ्रमण बनाउने भएका छन् । आगामी भदौ १८ मा बैंककमा बिमस्टेक सम्मेलन हुँदैछ ।
परराष्ट्रमन्त्री राणाको पहिलो दिल्ली भ्रमण भइरहँदा भारतले २ सय ५१ मेगावाट विद्युत निर्यात स्वीकृत गर्ने संयोग मिलेको छ । भारतीय दूतावासले सोमबार मात्रै विज्ञप्ति जारी गरी अन्तरदेशीय व्यापार हेतु भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका १२ वटा जलविद्युत् परियोजनाहरुबाट थप २५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृत गरेको जनाएको छ । योसँगै २८ वटा परियोजनाबाट भारतमा विद्युत निर्यात ९ सय ४१ मेगावाट पुगेको छ । यसअघि १६ वटा परियोजनाबाट ६९० मेगावाट निर्यात भएको थियो । सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो । भारतले भारतका खरिदकर्ताहरुका लागि जलविद्युत् खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत् आयात गणना गर्ने प्रावधान पनि खोलेको जनाएको छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौता अनुसार आगामी १० वर्षमा भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरिएको छ ।
