News 24 Television
आरजुको दिल्ली भ्रमणः ओली–मोदी सम्बन्ध विस्तारको अवसर

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा यतिबेला भारत भ्रमणमा छिन् । भारत भ्रमणमा रहेकी मन्त्री राणाले भारतीय समकक्षी एस. जयशंकरका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेकी छन् । 

मन्त्री राणाको भारत भ्रमणले नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने अवसर प्राप्त भएको हो । 

भदौ २ गते आइतबार भारतको औपचारिक भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री आरजु राणा देउवा यतिबेला दिल्लीमा राजनीतिक भेटघाटमा ब्यस्त छिन् । 

भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा दिल्ली पुगेकी उनले भारतीय समकक्षी जयशंकरका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नै भेटवार्ता गरेकी छन् । मोदीसँगको भेटमा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । 

पाँच दिने भारत भ्रमणको क्रममा भारतीय समकक्षी जयशंकरका साथै अन्य विशिष्ट ब्यक्तिहरुसँगको भेटवार्ताको कार्यकालिका भए पनि मोदीसँगको भेटको कार्यतालिका तय भएको थिएन । तर दिल्ली पुगेपछि मोदीले भेटको समय दिएका हुन् । नेपाली कांग्रेसकी सभापति शेरबहादुर देउवापत्नीसमेत रहेकी मन्त्री राणाले भारतसँगको सम्बन्धलाई अझ मजबुत बनाउने अवसरका साथै चुनौति पनि रहेको परराष्ट्रमामिलाका जानकारहरु बताउँछन् । 

नेपाल र भारतबीच सीमा समस्या सबैभन्दा ठूलो समस्याका रुपमा रहेको छ । सीमा समस्याका साथै भारतसँगको समस्या र त्यसको सामाधानका विषयमा सुझाव दिन सक्ने हैसियत पनि परराष्ट्रमन्त्री राणाको हुनु जरुरी छ । 

नेपालको ब्यापार सम्बन्धका साथै नेपालको कृषि उत्पादनलाई भारतले विभिन्न बाहना रोक्ने काम गर्दै आएको छ । यस्ता द्विपक्षीय हितका विषयमा समाधान निकाल्ने अवसर पनि मन्त्री राणाले पाएकी छन् । 

मन्त्री डा राणाले भारतीय समकक्षी जयशङ्करसँगको भेटवार्ताको क्रममा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै ऊर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो । 

साथै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना भएको छ । 

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट नेपाल भ्रमणको निम्तो पनि दिएकी छन् । 

कुटनीटिक क्षेत्रमा राम्रो दखल राख्ने मन्त्री राणाको दिल्ली भ्रमणले प्रधानमन्त्री ओलीलाई मोदीसँगको सम्बन्ध बलियो बनाउने अवसर पनि मिलेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update