News 24 Television
संविधान संशोधनका लागि सबै दललाई साथ लिएर अघि बढ्छौं : देउवा

काठमाडाैँ । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरुलाई साथमा लिएर अघि बढ्ने बताएका छन् ।

लोकतन्त्रप्रति प्रतिबद्ध काँग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमति सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाइ छ ।

मंगलवार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ठूला दुई पार्टीबीचको संविधान संशोधन गर्ने सहमतिलाई अन्य दलहरुले आफ्नो खिलाफको रुपमा लिन नहुने पनि बताए । सभापति देउवाले संविधान संशोधनका क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा पनि अन्य दलको सहमति भए आफूहरु तयार रहेको बताए ।

'बहुलवादमा आधारित प्रजातान्त्रिक समाजवाद उन्मुख सिद्धान्तको आधारमा हामी अघि बढिराखेका छौं । अहिले पनि संविधान संशोधनको विषयमा ओलीजी र मेरो बीचमा सहमती भएको हो,' उनले भने, 'केही कुराहरु छन् । त्यसमा नौलो कुरा केही छैन हेर्नुस् । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । अव यो राष्ट्रिय सभाको अध्यक्ष को बन्ने ? यहि सहमती बन्छ भने उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । यावत कुराहरुमा गर्ने गरेर अघि बढेका हुन । त्यसकारण यी विषयमा दुईटा पार्टीबीच सहमती भएको छ । यो दुई पार्टीबीचको सहमती कुनै पार्टीको खिलाफमा होइन । यो सहमतीमा अरु सबै पार्टीहरुलाई समेट्दै लैजाने हो । र नेपालमा अझ प्रजातान्त्रिक सिद्धान्तलाई समाजवाद उन्मुख बनाउने विषयलाई ध्यानमा राखेर हामी अघि बढन खोजिराखेका छौं । हाम्रो पार्टी हो । त्यसकारण यसमा कुनै पनि साथीभाईहरुले आशंका गरिरहनुपर्ने आवश्यक्ता छैन । ओलीजी पनि प्रजातन्त्रको मुलभुत सिद्धान्तको पक्षमा हुनुहुन्छ । नेपाली काँग्रेस प्रजातन्त्रप्रति प्रतिवद्ध हुने नै भइहाल्यो । त्यसैले जुन हामी बीचमा सहमती भएको छ । त्यो सोची विचारीकन भएको सहमति हो ।' 

सभापति देउवाले दुई वटा पार्टी मिले भईहाल्यो नि भन्ने पनि सुनिएकाे भन्दै दुई वटा पार्टी मिल्नुको मतलव अरु कुनै पार्टीको खिलाफ नभएकाे बताए । नेकपा माओवादी केन्द्र र माधवकुमार नेपालको पार्टी नेकपा एसलगायत सबै दलहरुलाई एकसाथ लिएर अघि बढ्ने उद्देश्य रहेकाे उनले स्पष्ट पारे । उनले दुई ठूला पार्टीबीच सहमति हुनु मुलुकका लागि आवश्यक रहेको पनि बताए ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update