News 24 Television
बाग्मती प्रदेशबाट शुरु भयो प्रचण्डको विकल्प खोजी !  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प बहस अब प्रदेशतिर शुरु भएको छ । 

पार्टीमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने भनी पार्टी उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटीमा पेश गरेको लिखित प्रस्तावबारे बुधबारदेखि प्रदेश पदाधिकारीहरुको परामर्श वैठक शुरु भएको हो । 

लामो समयको सत्तायात्राबाट बाहिरिएपछि विरक्तिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यतिबेला पार्टीभित्रैको दबाब थेगि नसक्नुको छ । 

कहिले एमाले र कहिले कांग्रेसको काँध चढेर सरकारको नेतृत्व हत्याएका प्रचण्डले संसदमा तेस्रो शक्ति रहेकै कारण संसदीय गणितमा सशक्त बार्गेनिङ पावर ठानिरहे । त्यसैले उनले ३२ सिटे आफ्नो पार्टीलाई जादुमयी सिट संख्या भन्न भ्याएका थिए । कहिले यता र कहिले उता गरेर पनि प्रधानमन्त्री जोगाइरहेको भन्दै हौसिएको केही दिनमै प्रचण्डको प्रधानमन्त्री पद चट भयो ।

सरकारमा मात्र होइन, त्यसअघि उनले पार्टीभित्र पनि त्यस्तै विवादित अभिब्यक्ति दिएका थिए । समाजवादी मोर्चामा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’लाई पार्टीमा भित्राउने योजनाका साथ प्रचण्डले पार्टीमा आफ्नो विकल्प नभएको अभिब्यक्ति दिएका थिए । तर साउन २५ गतेदेखि ३१ गतेसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व छाड्नुपर्ने भनी उपमहासचिव जनार्दन शर्माले लिखित प्रस्ताव नै अघि सारे । शर्माले लिखित प्रस्ताव ल्याउदैछन् भन्ने सुइँको पाएपछि प्रचण्डले नै पार्टी फुटको हल्ला चलाएको विषयले स्थायी कमटी बैठक तातेको थियो । 

प्रदेश छि¥यो प्रचण्डले नेतृत्व छाड्ने शर्माको प्रस्ताव  

अध्यक्ष प्रचण्डले सत्ताको नेतृत्व गरे पनि पार्टीको नेतृत्व छाड्नुपर्ने शर्माको लिखित प्रस्तावको बहस केन्द्रदेखि तल्लो कमिटीसम्म नै पुग्दैछ । यसैको शिलशिलामा प्रदेशस्तरीय केन्द्रीय परामर्श समितिको बैठक शुरु भएको छ । 

प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको परामर्श बैठक बाग्मतीबाट शुरु भएको छ । बाग्मती प्रदेशको केन्द्रीय परामर्श बैठकपछि सबै प्रदेशमा बैठक बस्दैछ । स्थायी कमिटीबाट प्रदेशमा पुगेको विवाद अब तल्लो कमिटीमा पुग्दैछ । 

आगामी महाधिवेशनअघि नै पार्टी नेतृत्व छाड्नुपर्ने लगायत शर्माको प्रस्तावको जवाफसहितको दस्तावेज प्रचण्डले आगामी केन्द्रीय समिति बैठकमा पेश गर्ने बताएका छन् । 

शान्ति प्रक्रियामा आएपछि पार्टीको उँधोगतिको संश्लेषणसहित पार्टी नेतृत्व हस्तान्तरणको प्रस्तावलाई प्रचण्डले सहज स्वीकार्छन् कि विगतमा जस्तै शर्मालाई पार्टीबाटै पाखा लगाउँछन्, समयक्रमले बताउने नै छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update