काठमाडौं । २०७९ को आम निर्वाचन भन्दा ६ महिनाअघि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी संघीयतामा अझै पनि प्रष्ट भइसकेको छैन ।
पहिलो पटक आम निर्वाचनमा भाग लिए पनि प्रदेश निर्वाचनमा सहभागिता जनाएन । तर संघको निर्वाचनमा अप्रत्याशित नतिजा प्राप्त गर्यो । प्रदेश निर्वाचन बहिष्कार गरेको रास्वपाका स्थानीय तहको रिक्त पदको निर्वाचनमा भने भाग लिने भएको छ ।
दुई वर्षअघि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदको चौंथो शक्ति हो । ७९ को निर्वाचना भन्दा ६ महिना अघि मात्रै रवि लामिछाने नेतृत्वमा घोषणा भएको यो पार्टीले पहिलो पटक भाग लिएको निर्वाचनमा नै प्रत्यक्षतर्फ ७ र समानुपातिक तर्फ १३ सिट हात पा¥यो ।
कांग्रेसले जितेको एक सिटसमेत राष्ट्रपति र उपराष्ट्रपतिको चयनपछि भएको उपनिर्वाचनमा रास्वपाको पोल्टामा आयो । पार्टी निर्माण गरेको ६ महिनामै भाग लिएको निर्वाचनमा अप्रत्याशित नतिजा हात पारेको रास्वपाले प्रदेश निर्वाचनमा भने बहिष्कार गरेको थियो ।
मुलधारका पार्टीहरुप्रतिको वितृष्णा २०७९ सालको निर्वाचन परिणामले स्पष्ट गरिदियो । ७९ सालको स्थानीय तहको निर्वाचनमा संघीय राजधानी रहेको काठमाडौं महानगरपालिका, धनगढी र धरान उपमहानगरपालिका लगायतका शहरहरुमा मुलधारका राजनीतिक दलहरुबीचको ठूल्ठूला गठबन्धनका बाबजुद पनि स्वतन्त्र उम्मेदवारले बाजी मारेपछि रवि लामिछाने राजनीतितर्फ आकर्षित भए । र, स्वतन्त्र नामकै पार्टी दर्ता गरेर आम निर्वाचनमा होमिएका थिए ।
वैचारिक दृष्टिकोणसमेत स्पष्ट भइनसकेको दलले संघको निर्वाचनमा अप्रत्याशित नतिजा ल्याउँदै संसदको चौंथो शक्ति बने पनि प्रदेश निर्वाचनमा भाग नलिएर पछुताएको रास्वपा अहिले भने स्थानीय तहको रिक्त पदमा हुन लागेको निर्वाचनमा भाग लिने निर्णयमा पुगेको छ ।
निर्वाचन आयोगले २०७९ बैशाख ३० गते भएको स्थानीय तहका निर्वाचन पश्चात तीन स्थानीय प्रमुखसहित देशभर ३४ पद रिक्त छ । काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, दैलेखको महाबु गाउँपालिका अध्यक्ष पद रिक्त छ । यस्तै, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पद पनि रिक्त छ ।
रिक्त रहेका ३४ पदमा आयोगले निर्वाचनको तयारी गरिरहँदा रास्वपाले उक्त निर्वाचनमा भाग लिएर स्थानीय तहमा पनि पकड जमाउने रणनीति बनाएको छ । उदार अर्थनीतिलाई अंगालेको रास्वपाले राजनीतिक कार्यदिशा बनाउनै लागि छिट्टै राष्ट्रिय भेलाको समेत तयारी गरेको छ ।
