News 24 Television
आरजुलाई भारतको सम्मानले कांग्रेस उत्साहित 

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणले नेपाली कांग्रेसलाई उत्साहित बनाएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणमा राणाले भदौ २ देखि ६ गतेसम्म पाँच दिने भारत भ्रमण गरेकी थिइन् ।

भारतीय पक्षले राणालाई दिएको महत्वले कांग्रेस उत्साहित भएको हो । भ्रमणको उपलब्धीबारे मन्त्री राणाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा ब्रिफिङ गरेकी छन् । 

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भदौ २ देखि ६ गतेसम्म दिल्ली भ्रमण गरिन् । भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा औपचारिक भ्रमण गरेकी उनले भदौ ३ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गरेकी थिइन् । भ्रमण कार्यतालिकामा भारतीय प्रधानमन्त्री प्रधानमन्त्री मोदीलाई भेट गर्ने समय तय नभए पनि राणाले भेट गर्ने अवसर पाइन् । 

आफ्नो भारत भ्रमण उपलब्धीपूर्ण भएको बताएकी मन्त्री राणाले शुक्रबार मात्रै कांग्रेस केन्द्रीय समिति बैठकमा ब्रिफिङ गरेकी छन् । उनले भारतीय प्रधानमन्त्री मोदीसँग लक्कीली भेट भएको बताएकी छन् । नेपाली कांग्रेस र एमाले सम्मिलित गठबन्धनको सरकारप्रति पनि भारत सकारात्मक देखिएको मन्त्री राणाले स्पष्ट गरेकी छन् । 

दुई ठूला पार्टी मिलेर बनेको सरकारप्रति भारतको राम्रो रेस्पोन्स रहेको पनि कांग्रेस बैठकमा मन्त्री राणाले जानकारी गराएकी छन् । 

दिल्ली भ्रमणको प्रभावः डुबान समस्याबारे अध्ययन बैठक 
मन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमणको रुपमा भारत पुगेकी राणाले सो क्रममा नेपाल–भारत द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको बताएकी थिइन् । 

साथै भारतीय अधिकारीहरुसँग पञ्चेश्वर परियोजनाका साथै महाकाली नदीको पुल लगायतका विषयमा पनि कुराकानी गरेको उनले बताएकी छन् । आफ्नो भेटको प्रभावकै कारण डुबान समस्याबारे अध्ययन बैठक बस्नेबारेमा शुक्रबार मात्रै आफूलाई जानकारी आएको पनि मन्त्री राणाले पार्टीलाई जानकारी गराएकी छन् । 

बीआरआई मोडालिटीबारे भारतलाई जानकारी 

परराष्ट्रमन्त्री राणाले दिल्ली भ्रमणकै क्रममा चिनियाँ परियोजना बीआरआईकोबारेमा पनि छलफल भएको बताएकी छन् । बीआरआईको मोडालिटीबारे पार्टीको धारणा भारतीय पक्षलाई जानकारी गराएको पनि उनले बताएकी छन् । बीआरआईबारे कांग्रेसभित्रै फरक फरक मत सार्वजनिक भइरहँदा उनले बीआरआई पास गरेर दिइसकेको पनि भारतीय पक्षलाई स्पष्ट गरेको रणाले बताएकी छन् । 

राणाको भ्रमणको क्रममा भारतले दिएको महत्वका विषयमा सरकारको नेतृत्व गरिरहेको एमाले नेताहरुले मुख खोलेका छैनन् । यद्यपि भारतले कांग्रेस सभापति शेरबहादुर देउवापत्नीसमेत रहेकी मन्त्री राणालाई उच्च महत्व दिएकोमा एमाले सशंकित बनेको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठकमा मन्त्री राणालाई भारतले दिएको महत्वले एमालेमा चिसो पसेको ब्रिफिङ गरेका थिए । 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update