काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पदाधिकारी चयनमै किचलो भएको छ । असारको तेस्रो साता महाधिवेशनबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन गर्न नसकेपछि केन्द्रीय समितिलाई अधिकार प्रत्यायोजन गरिएको थियो । तर केन्द्रीय समितिले पनि सर्वसम्मत पदाधिकारी चयन गर्न नसकेपछि निर्वाचनबाटै टुंगो लगाइने भएको हो । २१ सदस्य पदाधिकारीमा अब १८ पदका लागि निर्वाचन हुनेछ ।
नेकपा एमालेबाट फुटेर माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीमा सर्वसम्मत पदाधिकारी चयन असफल भएपछि अन्ततः निर्वाचन हुने भएको छ । एमालेबाट अलग भएपछि पहिलो पटक असार १६ देखि २० गतेसम्म भएको महाधिवेशनबाट नेतृत्वका आकांक्षी तीन नेतालाई पुरानै पद दोहोर्याउँदै अन्य पदाधिकारी चयनको जिम्मा केन्द्रीय समितिलाई दिएको थियो । तर महाधिवेशनको म्याण्डेट विपरित समाजवादीले यसअघि नै ३ सय ४४ जनाको केन्द्रीय समिति घोषणा गरिसकेको छ । महाधिनवेशनले २ सय ९९ सदस्यीय केन्द्रीय समितिको म्याण्डेट दिएको थियो ।
महाधिवेशनबाट माधव नेपाललाई नै अध्यक्ष घोषणा गरिए पनि सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत घोषणा गर्दा समाजिक सञ्जालहरुबाटै असन्तुष्टिहरु सार्वजनिक भएका थिए । जारी केन्द्रीय समिति बैठकमा पनि सबै पदाधिकारीहरु सर्वसम्मत चयन गर्ने प्रयास असफल भएपछि नेकपा एस निर्वाचनमा जाने निधो गरेको हो । १८ सदस्यीय जम्बो पदाधिकारीका लागि पार्टीमा ५ दर्जन बढी आकांक्षी देखिएपछि समाजवादीको केन्द्रीय समिति बैठकमा निर्वाचन प्रक्रिया अघि बढाइएको हो । पदाधिकारी चयनका लागि निर्वाचन मण्डल घोषणा गरि मंगलबार २ बजेदेखि निर्वाचन हुने भएको छ । केन्द्रीय समितिका सदस्यहरु निर्वाचनमा सहभागी हुनेछन् ।
एकीकृत समाजवादीमा बरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चयन गर्न बाँकी छ । एक बरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे, बेदुराम भुषाल र प्रमेश हमालले दाबी गरेका छन् भने अन्य उपाध्यक्षमा एक दर्जन बढीले प्रतिष्पर्धामा उत्रिदैछन् । यस्तै, उपमहासचिव र सचिवका लागि पनि दर्जनौं मैदान उत्रिने तयारीमा छन् । कतिपय केन्द्रीय सदस्यकै हैसियतमा नभएको नेताहरुले पनि सचिवमा उठ्ने तयारी गरेका छन् ।
