News 24 Television
सरकार माफियाहरुको सेवामा लागेको प्रचण्डको आरोप

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर रहेको आरोप लगाएका छन् ।

करिव दुई महिनाको सरकारको कार्यकालले आफूलाई सरकार अहंकारपूर्ण गलत बाटोमा अग्रसर भएको निष्कर्षमा पुर्याएको अध्यक्ष दाहालको भनाइ थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै उनले सरकार माफियाहरुको सेवामा अग्रसर रहेको गम्भीर आरोप समेत लगाए । सरकार जनताकाे हितमा भन्दा पनि स्वार्थ समूहरुको अझ माफियाहरुको सेवामा अग्रसर भएकाले आफूले त्यसको खबरदारीका लागि संसदमा सम्बोधन गर्नुपरेको पनि अध्यक्ष दाहालको जिकिर थियो । 

उनले भने, ‘सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ । जनताभन्दा स्वार्थ समूहरुको अझ माफियाहरुको सेवामा अग्रसर छ । त्यसैले अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने भयो भन्ने चिन्ताले आज म यहाँ खबरदारीका निम्ति उपस्थित भएको छु । जनताले यो सम्मानित सदनमाथि गरिरहेको विश्वास पनि कमजोर हुने हो कि ? त्यसैले मैले आज यो रोष्टममा उभिने निर्णय गरेँ । अहिले नेपाली काँग्रेस र एमालेका साथीहरु आफू मात्रै मिल्नुभएको छैन । आफैलाई सिध्याउने भनिएका जातीय, क्षेत्रीय प्रकृतिका साना दलहरुलाई पनि कतै फकाएर, कतै तर्साएर सिध्याउने कोशिस गर्दैछन् ।’

अध्यक्ष दाहालले साना दलहरुलाई सिध्याउने कोशिस गरिरहेको आरोप पनि लगाए । 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update