News 24 Television
प्रचण्डले राजनीतिबाट सन्यास लिए : प्रमुख सचेतक बर्तौला

काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभएको टिप्पणी गरेका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले संसदमा अध्यक्ष दाहालले बोलेको कुरा नियाल्दा कुनै पनि नेताले आफ्नो योजना र रणनीतिअनुसार सरकारको नेतृत्व गर्ने लक्ष्य राख्नुपर्ने भए पनि दाहालले अब माओवादी केन्द्र र आफू कुनै पनि सत्ताको खेलमा नलाग्ने घोषणा गर्नु नै राजनीतिबाट पराजय स्वीकार गर्नुसरह रहेको बताए ।

सत्ताको खेलमा कहिल्यै नलाग्ने उद्घोष गर्नु नै एकप्रकारको सन्यासको घोषणा रहेको बताउँदै उनले सामान्य संवैधानिक प्रावधानलाई पनि ख्याल नगरी अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षको संसदीय दलको नेताको भुमिकाबारे कुण्ठा व्यक्त गरेकाे तर्क गरे ।

उनले भने, ‘माननीय पुष्पकमल दाहालज्युले संसदमा बोल्दै गर्दा हामीले सुन्यौँ । हामीलाई लाग्यो, आजदेखि नेकपा (माओवादी केन्द्र) र त्यसका अध्यक्ष पुष्पकमल दाहाज्युले संसदको रोष्टमबाट औपचारिक ढंगबाट अब म सत्ताको खेलमा छैन, हाम्रो पार्टी सत्ताको कुनैपनि खेलमा जाँदैन, उहाँले आफ्नो नाम फेरि पनि दोहा¥याएर भन्नुभयो, प्रचण्ड यो खेलमा छैन भन्नुभयो, यसले के देखाउँछ माओवादी केन्द्रका अध्यक्षज्यु, संसदीय दलका नेताले एक प्रकारले भन्ने हो भने राजनीतिबाट सन्यास लिनुभयो । सत्ताको खेलबाट कहिले पनि यस खेलमा अघि नबढ्ने त्यो प्रकारको, सत्तामा नजाने गरीको, नजोडिने गरीको सन्यासको घोषणा गर्नुभयो । अर्कोतर्फ उहाँले सँगै भन्नुभयो, प्रतिपक्षको दलको नेताको कुरा पनि भन्नुभयो । सामान्य संवैधानिक प्रावधानलाई पनि ख्याल नगरी कन जे बताउनु भयो, उहाँलाई म प्रमुख प्रतिपक्षको जिम्मेवारी पनि सत्तापक्षले लिए हुन्छ जुन भन्नुभयो, धेरै समय कुनुपर्दैन । त्यो दिन आउँछ, जनताले नै उहाँलाई विपक्षी दलको नेताको हैसियत पनि प्राप्त नहुने परिस्थित पाउनु हुनेछ । उहाँ जसरी जान खोज्दै हुनुहुन्छ, संसदमा पूर्वप्रधानमन्त्रीले बोल्ने तरिका जुन प्रकारको कुण्ठा अभिव्यक्ति प्रकट गर्नुभयो,त्यसले उहाँ ठूलो दल बन्नेगरीको तयारीमा हुनुहुन्न भन्ने स्वयं भन्नुभएको छ ।’

प्रमुख सचेतक बर्तौलाले पूर्वप्रधानमन्त्रीले आफ्नो जिम्मेवारी बिर्सिएर संसदमा कुण्ठा व्यक्त गर्नु ठीक नभएकाे टिप्पणी गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update