काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मुकुल ढकाललाई साधारण सदस्यबाट समेत हटाएको छ । शक्तिशाली महामन्त्री रहेका मुकुल ढकाल क्रमश पार्टी महामन्त्रीबाट हुँदै साधारण सदस्यबाट समेत निकालिएका छन् ।
पार्टी सभापति रवि लामिछानेमाथि संगिन आरोप लगाउदै बाहिरिन पुगेका मुकुलले उठाएका प्रश्नको जवाफ रास्वपाले दिन सक्ला ? प्रश्न उठेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाटै निकालेको छ । पार्टी कार्यालयमा बसेको बैठकले मुकुललाई गरिएको कारबाहीपछि रास्वपा प्रश्नको घेराबन्दिमा भने फसेको छ । मुकुलले पार्टी अनुशासन कायम गर्न नसकेकोदेखि जथाभावी बोलेको भन्दै कारबाही भोगेका उनले सभापति रवि लामिछानेमाथि भने निरन्तर प्रश्न गरिरहेका छन् ।
मूल नेतृत्वमाथि अनेक आरोप लागिरहेको बेला रास्वपा कमजोर धरातलमा उभिएको छ । सहकारी ठगी, जीबी राईसँगको सम्बन्ध, राहदानी प्रकरण लगायतका विषयमा गम्भीर प्रश्न उठिरहेका छन् ।
यस्ता प्रश्नको घेराबन्दीमा रहेको रास्वपा नेतृत्वले गर्ने कारबाही र कारबाही भोग्ने विश्वासपात्रको उपमा पाएका नेताले सार्वजनिक गर्न थालेका विषयले समेत रास्वपाको राजनीतिक जग हल्लिन पुगेकोमा आशंका छैन् । तर, के रास्वपाले यस्ता प्रश्नको सामना राजनीतिक ढंगबाट गर्दै नैतिक बल पुग्ने गरि आफूलाई सत्य सावित गर्न सक्ला ? चासो ब्याप्त छ ।
बैठकमा के भने सभापति रविले ?
राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा पार्टी सभापति रवि लामिछानेले आफूले सहकारी प्रकरणमा संसदीय समितिमा दिएको बयानबारे जवाफ दिएको बताइएको छ ।
रविले बैठकमा सहकारी ठगी प्रकरणमा आफ्नाविरुद्ध षडयन्त्र भइरहेको जिकिर गर्दै आफूजस्तै आरोप लागेका अन्य दलका नेतालाई किन बयानका लागि बोलाइन्न भन्दै प्रश्न गरे । यतिमात्रै नभई समितिमा आफूले दिएको बयानको जवाफ समेत पाउन नसकेको भन्दै रविले आफ्नो प्रष्ट बचाउ गरेको बताइन्छ ।
उसोतः रविले पार्टी बैठकमा मुकुलविरुद्ध कारबाहीको विषयदेखि समसामयीक विषयमा विषय राखेको बताइन्छ भने सहकारी प्रकरणको बयान र प्रश्नलाई पार्टीमा अभिलेखिकरण गर्नुपर्ने प्रस्ताव राखेको समेत बताइन्छ ।
कारबाहीपछि के भन्दैछन मुकुल ?
मुकुल ढकालले पार्टीको साधारण सदस्य समेत खोसिएपछि पार्टीबाट नभई रवि लामिछाने क्लबबाट निकालिएको भन्दै आक्रोश पोखका छन् । रास्वपाबाट निस्कासन गर्ने अधिकार क्लबलाई नभएको भन्दै आक्रोश पोखेका मुकुलले रविलाई नैतिकताको आधारमा राजीनामा दिन समेत सुझाएका छन् । मुकुलले सहकारी ठगी, राहदानी प्रकरणदेखि धेरै विषयमा रविमाथि तिखो प्रश्न गर्दै अनुसन्धान चलिरहेको विषयमा बोल्न नहुने समेत स्मरण गराएका छन् ।
कारबाही भोगेपछि आक्रोश पोख्न थालेका मुकुलले रविमाथि निरन्तर प्रहार गरेपनि रविले मुकुलबारे खास बोल्ने गरेका भने छैनन् ।
