News 24 Television
योगेशले माओवादी हिंसा भनेपछि संसदमा कोलाहल

काठमाडाैँ । नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले माओवादी हिंसाका कारण देश उर्जा उत्पादनमा पछाडि परेको बताएपछि नेकपा माओवादी केन्द्रका सांसदहरूले आपत्ति जनाए ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा विशेष सयमा बोल्ने क्रममा सत्तारुढ एमालेका सचिव भट्टराईले माओवादी युद्धलाई होच्याएर हिंसा भने । उक्त हिंसा नभएको भए २०६५ सालमै देश लोडसेडिङ मुक्त हुने बताए ।

सोही विषयलाई लिएर माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियमापत्ति जनाए । सांसद सापकोटाले भट्टराईको शब्द गैरसंसदीय र अमर्यादित भएको भन्दै आपत्ति जनाए । सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको भन्दै सचिव भट्टराईलाई बोल्न आग्रह गरे । फेरि पनि भट्टराईले लोकतन्त्रमा बोल्न नदिनु पनि हिंसा भएको तर्क अघि सारे ।

संसदमा दुई राजनीतिक दलका नेताहरुबीच एकअर्कामा आक्रोश पोख्न थालेसँगै सभामुख घिमिरेले माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिए । पौडेलले नेपालको संविधानअनुसार शान्ति प्रक्रियालाई हिंसाका रुपमा प्रयोग गर्न नपाइने भन्दै संसदको रेकर्डबाट सांसद भट्टराईले बोलेका शब्द हटाउनुपर्ने माग गरे ।

त्यसपछि सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई नियमापत्तिअनुसार बोल्न समय दिए । पाण्डेले पनि माओवादी जनयुद्धको अपमान गर्ने छुट संविधानले नदिएको भन्दै याेगेशका शब्द रेकर्डबाट हटाउन माग गरे  । त्यसपछि सभामुखले संसद सचिवालयलाई सो शब्द कसरी प्रयोग भएको छ भन्ने बारेमा बुझेर निर्णय लिन भन्दै निर्देशन दिए । तर पनि प्रतिवाद जारी नै रह्यो ।

लगत्तै नेकपा एमाले सांसद रघुजी पन्तले जनयुद्धमा मान्छे मारिनु हिंसा भएको भन्दै हिंसा शब्द प्रयोग गर्नु असंसदीय नरहेको जिकिर गरे । त्यसपछि पनि दुवै दलका सांसदबीचकाे गलफत्ती केही समय जारी रह्याे । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update