काठमाडौं । कांग्रेसभित्रको आन्तरिक राजनीति विथोलिएको छ । महामन्त्रीद्वयले ल्याएको प्रस्तावको विपक्षमा संस्थापन पक्ष दह्रो उभिएपछि प्रस्तावमा हेरफेरको तयारीमा जुटेका देउवाले सहमति जुटाउन नसक्दा पार्टीभित्रको टसल थप चुलिएको हो ।
चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्ताव र राजकीय पदमा समय सीमा तोक्ने अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावमा कांग्रेस संस्थापन पक्ष आक्रामक देखिएको छ ।
महामन्त्रीद्वयले ल्याएको प्रस्ताव व्यक्ति लक्षित रहेको र चुनावी गठबन्धन तत्कालीन समयमा निर्णय गर्ने रणनीतिक कुरा भएकाले कांग्रेसले यस्तो विषयलाई समावेश गरिनु अस्वभाविक हो भन्ने बुझाई संस्थापन पक्षको छ । तर, महामन्त्रीद्वय नै आफ्नो अडानबाट टसमस हुन नखोज्दा देउवाले नयाँ रणनीति अख्तियार गर्ने मुड बनाएका छन् ।
पार्टीमा सानदार बहुमतमा रहेका देउवा आफूविरुद्ध उपयोग हुने किसिमका प्रस्ताव सहजै पारित गर्न राजी हुने सम्भावना छैन । अझ, महामन्त्रीद्वयले चुनावी गठबन्धनमा गरेको एकस्वरले समेत देउवा थप झोक्किएका छन् । आफूलाई अर्को पटक प्रधानमन्त्री बन्नबाट रोक्न महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव ल्याएको बुझेका देउवा यो विषयमा सहमत हुने सम्भावना करिब–करिब छैन ।
यस्तोमा देउवाले बुढानिलकण्ठ बोलाएर उपसभापति र महामन्त्रीसँग पटक–पटक छलफल गरेपनि निष्कर्ष निकालिसकेका छैनन् भने सभापति देउवालाई उनकै दौतरी नेताहरुले महामन्त्रीद्वयको प्रस्तावलाई अनुमोदन गर्ने होइन भनेर अप्रत्यक्ष दबाब र धम्की पनि दिइरहेका छन् ।
महामन्त्रीद्वयको प्रस्तावमा सहमत हुन नसक्दा केन्द्रीय समिति बैठक समेत सर्दै सर्दै गइरहेको छ । गगनले चुनावी गठबन्धन नगर्नमा जोड दिरहेका छन भने विश्वप्रकाश एक्जिट पोलिसीमा केन्द्रित छन् । जुन कुरा अहिलेको अवस्थामा पार्टीका लागि घातक हुने कांग्रेसका शीर्ष नेताहरु नै बताउने गरेका छन् ।
अर्को पार्टी महाधिवेशनको मिति अहिले नै तय गर्नुपर्ने प्रस्तावले देउवा थप आक्रामक बन्न पुगेका छन् । विभिन्न कारणहरु देखाउँदै ४ ÷४ वर्षमा गर्नु पर्ने पार्टी महाधिवेशन सभापतिले डेढ वर्षसम्म सार्न सक्छन् ।
पार्टी विधानले दिएको यो सुविधा प्रयोग गर्ने मुडमा देउवा छन् भने इतर पक्ष ४ वर्षे कार्यकाल सकिने बित्तिकै महाधिवेशन मिति तोक्नुपर्ने अडानमा छ ।
यसले पनि कांग्रेसभित्रको टसल थप उत्कर्षमा पुगेको छ । देउवालाई गलाउन नसकेका महामन्त्रीद्वयले भाषामा केहि लचकता अपनाउन सहमति जनाएपनि महाधिवेशनको मिति तोक्ने, राजकीय पदको समयसीमा राख्ने र चुनावी गठबन्धनबारे प्रष्ट हुनुपर्ने अडानमा छन् । तर, देउवा चुनावी गठबन्धन रणनीतिको कुरा भएको र कार्यनीतिको विषय नभएकाले अहिले नै भन्न आवश्यक नरहेको तर्क गरिरहेका छन ।
एक्जिट पोलिसी र महाधिवेशनको मितिमा भने देउवा कठोर नै सुनिने गरेको बताइन्छ । कानूनले तोकेको समयभित्रै महाधिवेशन गर्ने र एक्जिट पोलिसीको विषयमा समयसीमा नहुनेमा देउवा प्रष्ट छन् । जुन एजेण्डामा महामन्त्रीद्वय अझ कडा रुपमा पेश हुन चाहन्छन् ।
के गर्लान देउवा ?
महामन्त्रीद्वयको प्रस्तावमा देउवाले सहमति जुटाउने सम्भावना कम देखिन्छ । पार्टीमा बहुमत भएकाले मतदान गरेर भएपनि देउवा आफ्नो निर्णय लागू गराउने पक्षमा छन् ।
यस्तोमा चुनावी अंकगणितलाई स्वीकार गर्दिन भन्ने नैतिक आधार नहुने भएकाले पनि देउवाको जोड त्यता जान लागेपछि महामन्त्रीद्वय गगन र विश्वप्रकाश अलपत्र पर्ने विश्लेषण कांग्रेस वृत्तमा हुने गरेको छ ।
सकेसम्म सहमति जुटाएर अघि बढ्न खोजेका देउवाले केहि समय पर्खिने र महामन्त्रीद्वय सहमत नभएपछि निर्वाचन गराएरै भएपनि आफू अनुकुल निर्णय गराउने पक्षमा देखिएपछि कांग्रेसको आन्तरिक राजनीति समेत चलायमान बन्न पुगेको छ ।
महामन्त्रीद्वयलाई मनाउन देउवाले विहिवार पनि उनीहरुसँग छलफल गर्दैछन् । तर इतर पक्षले भने यहि मौकालाई लिएर आफ्नो मत र एकता परीक्षण गर्ने अवसरको रुपमा लिएको छ । संस्थापन पक्ष र इतरपक्षबीचको यो टसललाई कांग्रेसले कसरी पार लगाउँदा आम चासोको विषय बनेको छ ।
