काठमाडौं । प्रतिनिधिसभामा माओवादीको तत्कालिन दशवर्षे सशस्त्र संघर्षलाई हिंसा भनेपछि विवाद चर्किएको छ । एमाले सांसद योगेश भट्टराईले माओवादी युद्धलाई हिंसा भनेपछि चलेको विवादमा सभामुखले योगेशको शब्द चयनमा छानविन गर्न निर्देशन नै दिए भने, माओवादी र एमालेबीच चर्काचर्की र भनाभन भयो ।
प्रतिनिधिसभामा सत्ता समीकरण फेरिएसँगै माओवादी केन्द्र र एमालेबीच कडा घोचपेच हुँदै आएका छन् । एमाले सांसदहरु माओवादी केन्द्रप्रति आक्रामक पेश हुने गरेका छन् भने, एमालेविरुद्ध माओवादी केन्द्रले विभिन्न मुद्दालाई लिएर प्रहार गर्ने क्रम चलिरहेको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि यहि चर्काचर्कीको नियति दोहोरियो । एमाले सांसद योगेश भट्टराईले विद्युतको विषयमा कुरा राख्दै माओवादीले विगतमा हिंसा गरेको र अहिले पनि बोल्न अवरोध गरेर संसदमै हिंसा शुरु गरेको आरोप लगाएपछि बैठकमा स्थिति बिग्रिन पुग्यो ।
योगेशले यस्तो शब्दको प्रयोग गरेपछि माओवादी केन्द्रका सांसद माधव सापकोटाले विरोध जनाए । माधवले विरोध जनाएपछि भनाभन चल्यो । योगेश हिंसा हो भन्नेमै केन्द्रित बने भने माओवादी केन्द्रका सांसदहरु प्रतिरोधमा उत्रिए ।
लामो समय विवाद चलेपछि माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बोले । राजनीतिक आन्दोलनलाई हिंसा भन्ने होड चलाई सांसदले नेपालको शान्ति प्रकृयामाथि नै प्रहार गर्दाको नैतिक धरातलबारे प्रश्न उडाउदै यसलाई मर्यादित नबनाए यसपश्चातको संवेदनशिलता बुझन् सभामुखलाई सांसद पौडेलले आग्रह गरे ।
अनि, सभामुख देवराज घिमिरेले योगेशले बोलेको विषयमा छानविन गर्न निर्देशन दिए । नोकभोक चलिरहयो । बैठकको माहोल ठिक बनाउन सभामुखले सचिवालयलाई हिंसा शब्दमाथि छानविन गर्न निर्देशन दिइसकेको बताइरहे पनि विवाद भने चलिरह्यो ।
विवाद जारीका क्रममा सभामुखले माओवादी केन्द्रका सांसदलाई बोल्न समय नदिएपछि उनीहरुले विरोध जारी राखे । त्यसपछि सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतकलाई समय दिए । प्रमुख सचेतकले योगेशले बोलेको विषयमा आपत्ति जनाए ।
संसदमा दुई दलका नेताहरुबीच चलेको जुहारी सत्ता समीकरण फेरिएपछि नै चर्किदै गएको छ । तर, सभामुखलाई यहि कुरा सम्हाल्न थप कठिन बन्ने संकेत देखिन थालेको छ ।
एमालेमा नयाँ अध्याय शुरु
एमाले अध्यक्ष केपी ओलीलाई कसैले आरोपित गरेमा पहिले अन्य नेताहरुले आवाज उठाउँथे । तर, पछिल्लो समय भने स्थिति फेरिएको छ ।
तत्कालीन नेकपा विभाजनमा ओलीविरुद्ध लाग्दै ओलीले संसद विघटन गरेर प्रतिगमनतर्फ मुलुकलाई लगेको भन्दै कुर्लिएका नेताहरु अहिले ओलीको बचाउमा कस्सिन थालेका छन् ।
एमालेमा अवसरको वितरण ओलीको इच्छामा भर पर्ने स्थिति बनेकाले पनि दश भाईको संज्ञा पाएका मध्येका योगेश भट्टराई र रघुजी पन्त अग्रपंक्तिमा आउन थालेका छन् । तर, हरेक समय ओलीलाई साथ दिएका नेताहरु भने हाँस्ने र उनीहरुलाई फ्लोर छाडिदिने गर्न थालेका छन् ।
कुनैबेला ओलीको पक्षमा कडा बोल्ने गोकुल बास्कोटा पछिल्लो समय खास अग्रपंक्तिमा देखिन्न भने महेश बस्नेतले चुनाव नै जितेनन् । यस्तोमा अन्य नेताहरुले जिम्मेवारी निभाउने कुरा भन्दा पनि ओलीको बचाउमा योगेश र रघुजीको सक्रियता बडो रोचक बन्दै गएको छ ।
कांग्रेसको मौनता
सत्तारुढ दल नेपाली कांग्रेस भने यस्तो विषयमा खास प्रतिक्रिया दिदैन् । सैद्धान्तिक विषयमा बाहेक विवादीत विषयमा कांग्रेसले खास टिप्पणी गर्दैन । सन्तुलित अवस्थामै रहेर अघि बढिरहेको कांग्रेसले किन अर्थपूर्ण मौनता साँधिरहेको छ ? यो रोचक विषय छ ।
हुनत कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन तलमाथि नहुने पार्टीमा बताइरहेको भनिन्छ । तर, कांग्रेसले सन्तुलनमै रहेर गरिरहेको राजनीति र एमालेको आक्रामकताकाबीच राजनीति थप रोचक मोडमा पुग्ने विश्लेषण हुन थालेको छ ।
एमाले किन आक्रामक ?
तत्कालीन नेकपा हुँदा एमाले अध्यक्ष केपी ओली र एमाले पंक्तिले माओवादी युद्धलाई स्वीकार गरिसकेको विषय हो । नेकपा कालमा दस्तावेजमै जनयुद्ध स्वीकार गरेको एमालेले पार्टी एकता भंग भएपछि भने यूटर्न गरेको छ ।
एमालेले माओवादी युद्धलाई हिंसा भनिरहेको छ भने संविधानले सशस्त्र द्वन्द्ध भनेको स्थितिमा समेत किन एमाले हिंसाको रटान लगाइरहेको छ भन्ने विषय समेत विभिन्न प्रकरणसँग जोडिन पुगेको बताइन्छ ।
पछिल्लो समय नेपाल विद्युत प्राधिकरणको बक्यौता रकममा भइरहेको राजनीति र एमालेले ब्यापारीलाई सहज हुने गरि लिएको अडानले समेत दुई दलबीचको प्रतिष्पर्धा रोचक मोडमा पुगेको छ ।
