काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच प्रदान गर्नेगरी आवश्यक प्रवन्ध मिलाउन निर्देशन दिएका छन् ।
बिहीवार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरुको बारेमा जानकारी लिँदै नागरिकलाई सहज पहुँच बिस्तार गर्नेगरी परिणामुखी भइ आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायहरुसँग आग्रह गरेका हुन् । उनले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताए ।
गृहमन्त्री लेखकले नागरिकले सहज र सरल रुपमा उपभोग्य वस्तुहरु पाएको महसुस हुनेगरी परिणाममुखी काम गर्न र बजारमा कृत्रिम अभाव हुन नदिन, मूल्यवृद्धि निइन्त्रण गर्न निर्देशन दिए ।
उनले भने, ‘चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्छ । त्यसका लागि हाम्रो सहयोग कहाँनेर हुनसक्छ ? भन्नेकुरा हो । परिणाममा देखिनुपर्यो । भाषणमा देखिएर हुँदैन । परिणाममा देखनिुपर्छ । कृत्रिम अभाव कुनै हालतले पनि हुनु भएन । कुनै ठाउँमा कृत्रिम अभाव भएको छ, बजारमा चिनी छैन, कहाँनेर गोदाममा हजार बोरा चिनी राखिएको भए कुनै बेला सह्य हुँदैन । त्यसका लागि हेर्ने निकाय को हो ? हेनुप¥यो । प्रहरी प्रशासनको के सहयोग चाहिन्छ, गृह मन्त्रालय पूराका पूरा सहयोग गर्नेछ । दशैँ तिहार आयो की मूल्यवृद्धि हुनु भएन । मूल्यवृद्धिलाई नजिकबाट सुक्ष्म ढंगले हेरेर नियन्त्रण गर्नुपर्छ । गुणस्तरहिन सामान बजारमा देखिनु भएन । अखाद्यवस्तुहरु चाडबाडको बेलामा बिक्री हुने भन्दै त्यसमा सचेत रहन र निगरानी बढाउनुपर्छ । सवारीसाधनको भाडको विषय पनि छ । दशैँतिहार आयो की भाडा वृद्धि हुन्छ । यसमा पनि ख्याल गर्नुपर्छ ।’
गृहमन्त्री लेखकले दशैँ-तिहारमा हुने सवारीसाधनको मूल्यवृद्धिको विषयमा पनि निगरानी बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिए ।
