News 24 Television
प्रचण्डविरुद्ध जानेमाथि खतराको घण्टी ! के बन्दैछ योजना ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आन्तरिक चुनौतिले तनाव बनाएको छ । जता पुगपनि जहाँ पुगेपनि प्रचण्डले पार्टी नफुट्ने र आन्तरिक विवाद साम्य भइसकेको स्पष्टीकरण दिनु परिरहेको छ । शक्तिशाली मानिएका प्रचण्ड अहिले किन यसरी कमजोर बन्दैछन् त ? 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० वर्षे जनयुद्धकालदेखि नै प्रभावशाली नेतृत्वमा छन् । केहि भावुक, उदार र निर्ममतापूर्वक पेश हुने प्रचण्ड विरोधीलाई ठेगान  लगाउने मामलामा पनि उत्तिकै माहिर नेता मानिन्छन् । तीन पटक प्रधानमन्त्री बनिसकेका प्रचण्ड पछिल्लो समय पार्टीको आन्तरिक राजनीतिमा संकटको सामना गरिरहेका छन् । 

विधान महाधिवेशनबाट प्रश्नको सामना गर्न थालेका प्रचण्ड पछिल्लो पटक उपमहासचिव जनार्दन शर्माको फरक मतले तनावमा छन् । नेतृत्व निर्विकल्पका रुपमा रहिरहेका प्रचण्डलाई जनार्दनले प्रश्न गर्दै नेतृत्व हस्तान्तरणको विषय उठाएपछि माहोल फेरिएको छ । प्रचण्डले पार्टी नफुट्ने कुरा जनार्दनलाई साक्षी राखेर भनिरहेका छन् । 

अध्यक्षको रुपमा चुनौति बढेपछि प्रचण्डले उपर्युक्त समयमा नेतृत्व हस्तान्तरण गर्ने बताइरहेका छन् । प्रचण्डले पार्टी नेतृत्वका लागि टिम तयार पारेर अघि बढ्ने र आफू फरक भूमिकामा रहन सक्ने बताइरहेका छन् । तर, प्रचण्डले सँगसँगै पार्टी अध्यक्ष भन्दा प्रचण्ड माथि भइसकेको समेत बताइरहेका छन् ।

के गर्लान् प्रचण्ड ?

प्रचण्ड आफूमाथि चुनौति देखिए त्यसको सामना तलसम्मै पुग्ने गरि गर्ने नेतामा पर्छन् । मोहन वैद्य किरणदेखि बाबुराम भट्टराई, रामबहादुर थापा बादल लगायतका नेताहरुमाथि प्रचण्डले देखाएको व्यवहारले पनि यसको पुष्टी गर्छ नै । तर, उनी भावुक पनि उत्तिकै   छन् । 

छिटो प्रतिशोध साँध्ने र छिटो सहकार्य गर्न सक्ने नेता भएकाले उनले जनार्दनविरुद्ध कस्तो कदम चाल्छन् भन्ने विषय चासोमा छ । यसअघि विधान महाधिवेशनमा जनार्दनले नेतृत्वको विषयमा हल्का विषय उठान गर्दा उनी बागमति प्रदेशको इन्चार्जबाट बाहिरिनु परेको थियो । 

त्यसअघि प्रचण्डको किचन क्याबिनेटमा रहेका जनार्दन त्यहि कारण जिम्मेवारीबाट मात्रै मुक्त गराइएनन्, उनी निकटका नेताहरुले प्रदेशतहसम्मै समस्या भोग्ने स्थिति बन्यो । 

उसोतः सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता हेरफेरमा पनि यस्तो षडयन्त्र भएको उनीहरुले बताउने गरेका छन् । यस्तोमा अब जनार्दनविरुद्ध प्रचण्डले चाल्ने कदम प्रतिक्षाको विषय बनिरहेको छ । 


निरन्तरको धम्की

प्रचण्डले पार्टी नेतृत्व तत्काल छाड्ने कुनै सम्भावना छैन् । राजनीतिक जीवनको उत्तरार्द्धमा रहेको बताउने प्रचण्डले उपर्युक्त समयमा टिम तयार पारेर फरक भूमिकामा रहने बताएपनि त्यो कहिले हो ? 

कसैले भन्न सक्ने स्थिति छैन् । जनार्दनबाहेकका नेताहरुले बाहिर प्रश्न गरेपनि उनको अगडाी प्रश्न गर्न सक्दैनन् । गएको स्थायी समिति बैठकमा अर्का उपमहासचिव वर्षमान पुनले प्रचण्डपछिको नेतृत्व अहिलेको जस्तो नहुने भन्दै प्रचण्डको विकल्प नभएको सन्देश दिइसकेका छन् । 

वर्षमानले प्रचण्ड चाहेर भन्दा पनि प्रचण्डको शैली बुझेका कारण यस्तो बताएको धेरैको बुझाई छ । हुनत प्रचण्डले नै माओवादी आन्दोलनको नेतृत्व गर्नेदेखि माओवादी लिगेसी जोडिने भएकाले पनि प्रचण्ड पार्टी अध्यक्ष भन्दा माथि भएको धम्की दिइरहन्छन् । 

प्रचण्डको निरन्तरको धम्की र खप्की खानुपरेपनि यो स्थिति प्रचण्डले चाहेसम्म यस्तै चल्ने देखिन्छ । 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update