काठमाडौं । नेपाल वायु सेवा निगम ग्राउण्डेड हुनेदेखि जहाजलाई हग्याङ्गरमा थन्क्याउने कार्यले थला पर्दै गएको छ ।
सी चेकका लागि रोजिएको मुलुक र विमान सञ्चालनमा गरिएको लथालिङ्ग व्यवस्थापनले नेपाल वायु सेवा निगम बन्द त हुँदैन भन्ने चिन्ता बढ्न थालेको छ । विमानले पर्याप्त यात्रु पाउने सिजनमै यस्तो अस्तव्यस्त अवस्था किन छ त ?
नेपालीहरुका विभिन्न चाडपर्व नजिकिन थालेका छन् । मौसम पनि विस्तारै खुल्दै जाने र पर्यटक समेत नेपाल भित्रिने समय हुँदैछ । विदेशमा रहेका नेपाली चाडपर्वको अवसर पारेर नेपाल आउने र विदेश जाने समयमै नेपाल वायु सेवाका विमान थन्किनुले समस्या थप पेचिलो बन्दै गएको छ ।
नेपाल वायु सेवा निगम विगतदेखि नै भ्रष्टाचार र कमिसनको जञ्जालमा फसिसकेकाले पनि यसको अस्थित्वमाथि प्रश्न उठिरहेको छ । निजी विमान कम्पनीले धमाधम विमान थप गरिरहेका बेला नेपाल वायु सेवा निगम भने उडान कटौति गर्ने र गन्तव्य क्षेत्र घटाउने खेलमा देखिन्छ । विभिन्न देशका उडान अवतरण बन्द हुने स्थितिमा पुगेका छन् भने विमान ग्राउण्डेड हुँदा नेपाल एयरलाइन्सको विश्वसनीयता समेत खस्कदो अवस्थामा पुगेको छ ।
वाइडबडी विमान खरिदमै ठुलो घोटाला भएको तथ्यले पार नपाउदै तीनै विमानहरुले उडान अवतरण गर्ने स्थिति नबन्दा वायु सेवा निगम घाटाको शिखरमा छ । हङकङ, दुबई, दोहा लगायतका गन्तव्यबाट नेपाल आउन लागेका यात्रु अलपत्र पर्नेदेखि वायु सेवा निगमले विभिन्न एयरलाइन्समा टिकट किनेर यात्रु ओसारपसार गर्ने काम गरिरहेको खुलस्त रुपले प्रवक्ता बताउँछन् ।
प्रवक्ताले अन्तराष्ट्रिय उडानमा रहेका ४ विमानमध्ये ३ विमानले उडान अवतरण गर्न नसकेको र विमान कम भएका कारण समस्या निम्तिएको दाबी समेत गरिरहेका छन् । यस्तोमा वायु सेवा निगममा भइरहेको गतिविधिलाई संसदले समेत शंकाको दृष्टीले हेर्न थालेको छ ।
थला पर्ने स्थितिमा रहेको नेपाल वायु सेवा निगमलाई सञ्चालन गर्न सरकार सक्षम बन्न नसकेको बेला अब यसलाई निजिकरण गर्नुपर्ने आवाज समेत उठ्न थालेको छ । विमान खरिदमा हुने भ्रष्टाचारदेखि वायु सेवा निगम व्यवस्थापनमा नियुक्तिमा समेत हुने भद्रगोल स्थितिले थिलोथिलो परेको वायु सेवा निगमलाई अब निजिकरण गरेर भएपनि स्थिति सुधार गर्नुपर्नेमा सांसदहरुले जोड दिन थालेका छन् ।
नेपाल वायु सेवा निगमलाई निश्चित कम्पनीको नामै तोकेर जिम्मा दिन माग गर्ने सांसददेखि विभिन्न माग चलेपनि पूर्वपर्यटनमन्त्री सुदन किरातिले भने ऐन संशोधन गरेर अघि बढ्नुपर्ने औल्याएका छन् ।
सरकार के गर्दैछ ?
सरकारले वायु सेवा निगमलाई सञ्चालन गर्न नसकेको भन्दै अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । कार्यक्षमतामाथि प्रश्न उठाउदै स्पष्टीकरण सोधिएपनि यसले निकास दिन सक्ला ? आशंका छ ।
सरकारले वायु सेवा निगमलाई सञ्चालन गर्ने स्पष्ट नीति र कार्ययोजना बनाउनुको सट्टा विमानको लथालिङ्ग स्थितिलाई राजनीतिकरणतर्फ धकेले थप समस्या निम्तिने सरोकारवालाहरुले बताउने गरेका छन् । क्षमतावान व्यक्तिलाई जिम्मेवारी सुम्पिनुको साटो स्वार्थ मिल्नेलाई पदस्थापन गर्दा पनि नेपाल वायु सेवा निगम थला पर्दै गएको बताइन्छ ।
सिजनमै विमान ग्राउण्डेड किन ?
यो समय उडान खचाखच हुने समय हो । नेपालको मौसममा आउने सुधार, पर्यटनका लागि उपर्युक्त समय र चाडपर्व नजिकिएकाले नेपाल आउने र विदेश जानेहरुको संख्या उल्लेख्य हुने समय पनि हो । तर, पिक सिजनमै विमान ग्राउण्डेड भएपछि विभिन्न शंका उब्जिएका छन् ।
कतै निगमलाई समाप्त पार्ने गरि षडयन्त्र त हुँदैछैन भन्ने आशंका चलिरहेका बेला सरकारले अब कस्ता कदम चाल्छ भन्ने विषयले आगामि दिनको परिदृष्य देखाउने छ ।
