News 24 Television
ओली–देउवाको ट्यूनिङमा क्याप्टेनको भूमिका, सत्तायात्रा कहिलेसम्म ?

काठमाडौं । कांग्रेस एमाले सरकार निर्माणमा व्यापारीको हात रहेको आरोप लामो समयदेखि लाग्दै आएको थियो । उसोतः पहिलेदेखि नै नेपालको सत्ता सहकार्यमा व्यापारीले भूमिका खेल्ने गरेको विषय लुकेको छैन् । तर, अहिले ठिक भन्दै सराहना गरेका व्यापारी केहि समयमै फटाहा भन्दै दुत्कार्ने नेपाली राजनीतिले अहिलेको सत्ता गठबन्धनलाई कसरी लिन्छ त ? 

नेपालको राजनीतिमा व्यापारीले ठूलो भूमिका निर्वाह गर्छन् । व्यापारीले सत्ता उलटफेरमा समेत प्रभावकारी भुमिका खेल्ने गरेको तथ्य पहिलेदेखि नै चल्दै आएको छ । यस्तोमा तत्कालीन नेकपाको एकताको प्रक्रियामा समेत व्यापारी दुर्गा प्रसाईँले खेलेको भूमिकाको चर्चा अहिले पनि हुने गर्छ । 

प्रसाईँले मार्सी चामलको भात खुवाएर गराएको सहमति लामो समय नटिकेपनि तत्कालीन समयमा नेकपा बन्यो । नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डले तीन वर्ष जस्तो सहकार्य पनि गरे । तर, आन्तरिक विवाद र शक्ति संघर्षपछि उनीहरु आ–आफ्नो बाटो लागेपनि दुर्गा प्रसाई केहि समय केपी ओली निकट रहेर एमाले केन्द्रिय सदस्य समत बने । तर, कालान्तरमा उनी कारबाहीमा परेका छन भने ओली र प्रसाईको अहिले सम्बन्ध पानी बाराबारको स्थितिमा छ । 
यस्तै, एमाले–माओवादी केन्द्रको गठबन्धन फेर्न पनि व्यापारी रामेश्वर थापाले खेलेको भूमिकाबारे कांग्रेस सभापति शेरबहादुर देउवाले खुलेरै बताएका छन् ।

ओली र आफूलाई नजिक ल्याउन क्याप्टेन थापाले भूमिका खेलेको र अहिलेको गठबन्धन बन्न उनको सक्रिय भुमिका रहेको दाबी पनि गरिदिएका छन् । 

देउवाले क्याप्टेन थापाको पुस्तक विमोचनमा यस्तो दाबी गर्दै गर्दा एमाले अध्यक्ष केपी ओली भने प्रधानमन्त्रीको हेसियतमा व्यापारीलाई साक्षी राखेर प्रचण्डमाथि सत्तोसराप गर्दैछन् । बंगलादेश, श्रीलंकाको स्थिति हुन्छ भन्दै प्रचण्डले दिएको धम्कीको जवाफ माओवादी युद्धसँग जोडेर ओलीले आक्रोश पोखेका छन् । 

सत्ता नेतृत्वका लागि दुबै पटक व्यापारीले चाजो मिलाइदिएको कुरा देउवाले खुलस्त पारिदिएका छन् । अघिल्लो कार्यकालको बेला दुर्गा प्रसाईले किङमेकरको रुपमा भूमिका निर्वाह गरेका थिए भने यो कार्यकालमा रामेश्वर थापाले भूमिका निर्वाह गरेका छन् । 

हुनत ओली र एमाले व्यापारीको पक्षमा दृढ उभिदै आएको पनि देखिन्छ । तर, व्यापारील स्वार्थ पुरा गर्न नसके नेता छाड्ने प्रवृत्ति र राजनीतिले पनि कोल्टे फेर्ने स्थितिका कारण सत्तामा उतारचढाव आइरहने स्थिति छ ।

सत्ताको संयोग

ओलीलाई व्यापारीले जुराइदिएको अघिल्लो सत्ता नेतृत्वको खास सहज बहिर्गमन हुन सकेन् । ओलीलाई विस्थापित गर्दै देउवा प्रधानमन्त्री बने । 

प्रधानमन्त्री ओलीलाई फेरि देउवालाई नै प्रधानमन्त्री छाड्नुपर्ने वाध्यता छ । हुनत ओलीले सत्ता हस्तान्त्रणमा इमान्दारिता देखाउदैनन भन्ने भाष्य चिर्न उनले अहिले नै कार्यकालको बाँडफाँट गर्न थालेका छन् । 

ओलीलाई जुरेको सत्ता नेतृत्वको चरित्र अहिले पनि व्यापारी हुनु र प्रधानमन्त्रीको लाइनमा देउवा नै हुने संयोगले अब कस्तो राजनीतिक यात्रा तय होला ? यो समेत रोचक विषय बनेको छ । 

दलीय अकर्मण्यता

सत्ता सहकार्य होस वा राजनीतिक सहमति नै किन नहोस, नेताहरुले खुलेर आफ्नै बलवुतामा गरेको देखिन्न । नेपालको राजनीतिक इतिहासमा व्यापारी वा विदेशी शक्तिको ग्रिन सिग्नल हेर्ने गर्नाले मुलुकको राजनीतिले कहिले आफ्नै लयमा काम गर्ने स्थिति बन्ला ? 

नागरिकको प्रतिक्षमा यो विषय भएपनि दलीय प्रवृत्ति र अकर्मण्यताले मुलुक थप जर्जर बन्ने खतरा पनि उत्तिकै छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update