News 24 Television
प्रधानमन्त्रीको लोभले देउवा फायर, गगन–विश्व ‘फेल’

काठमाडौं । महामन्त्रीद्वयको प्रतिवेदनले अशान्त बनेको कांग्रेस सहमतिको अन्तिम तयारीमा जुटेको छ । तर, शीर्ष नेताहरुले सहमतिको बिन्दु पहिल्याउन सकेको भने देखिन्न ।

सभापति शेरबहादुर देउवालाई चुनौति दिने गरि आएको प्रतिवेदनमा उनले दबाबमूलक सहमति खोज्ने प्रयास गरेपनि विषय टुंगो लाग्न भने सकेको छैन् ।

नेपाली कांग्रेस अब सरकारको नेतृत्वका लागि पालो कुरिरहेको छ । एमालेसँगको सहमति कार्यान्वयनमा आए दुई वर्षपछि र कांग्रेस सभापति शेरबहादुर देउवाले चाहेमा जुनसुकैबेला सरकारको नेतृत्व गर्ने परिस्थिति छ । 

यस्तोमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एक्जिट पोलिसीको बहस चर्काइदिएपछि देउवालाई तनाव थपिएको छ । 

महामन्त्री शर्माले प्रधानमन्त्री कतिपटक बन्ने वा राष्ट्रपति कति पटक बन्ने भन्ने विषयमा कठोर निर्णय लिने बेला आएको दाबी गर्दै आफ्नो प्रस्ताव आगामी केन्द्रिय समितिबाट पारित हुने दाबी गरिेरहेका छन् । 

विश्वप्रकाशले दुई पटक प्रधानमन्त्री र एक पटक राष्ट्रपति बन्ने प्रस्ताव अघि सारेपछि देउवलाई रोक्ने प्रस्ताव आएको चर्चा कांग्रेस वृत्तमा छ । तर, विश्वप्रकाशले यो विषयलाई संविधानमै सशोधन प्रस्तावको रुपमा ल्याएर राष्ट्रव्यापि बनाउने गरि अघि बढेको संकेत गरिरहेका छन् । 

कांग्रेसभित्रको आन्तरिक राजनीति उथलपुथल बनिरहेको बेला देउवा पत्नी रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा भने अबको प्रधानमन्त्री शेरबहादुर नै भएको ठोकुवा सार्वजनिक रुपमै गर्न थालेकी छन् । 

आरजुले दिल्लीमा भारतीय प्रधानमन्त्री मोदीको सम्मान र स्वागत पाएपछि कतिपयले उनलाई प्रधानमन्त्रीको रुपमा प्रोजेक्सन गरिरहेका छन् । 

यहि छेकोमा सरकारको स्थायित्व खोजिरहेका प्रधानमन्त्री केपी ओलीले पनि सांकेतिक रुपमा महिलालाई प्रधानमन्त्री बनाउन चाहेको भन्दै कांग्रेसमा आगो सल्काइदिएका छन् । 

आफ्नो कार्यकाल पुरा हुन्जेलसम्म ओलीले परिस्थिति फेर्ने गरि फालेको महिला प्रधानमन्त्रीको नाराले आफ्नो सत्ता लम्ब्याउने खेल नखेल्लान भन्न सकिने स्थिति पनि छैन् । तर, ओलीले महिला प्रधानमन्त्रीको रुपमा गरेको प्रोजेक्सन भने रोचक छ । 

कांग्रेस आन्तरिक विवादमा भएपनि छलफल र बहस भने अत्यन्तै गम्भीरतापूर्वक गर्ने गरेको देखिन्छ । 

कांग्रेस सभापति देउवा आफूसँग भएको बहुमतको डण्डा चलाउने अन्तिम तयारी गरेपनि सकेसम्म सहमतिको वातावरण बनाउने र वातावरण बनाउन अभ्यास गरेको सन्देश दिन चाहन्छन् । जसकारण निरन्तर रुपमा देउवा निवास बुढानिलकण्ठमा शीर्ष नेताहरुको जमघट चलिरहेको छ । 

गगनको प्रस्तावमा आंशिक सहमति

गगन थापाले चुनावी गठबन्धन नगर्ने भन्दै उचालेको विषयलाई कांग्रेसले तत्काल भाषा परिमार्जन गरेर पेश गर्ने तयारी अन्तिम चरणमा पु¥याएको चर्चा छ । पार्टी संगठन निर्माणमा जुट्ने र कांग्रेसको एकल बहुमत आउने स्थिति सिर्जना गर्ने भन्ने शब्द राखेर अघि बढ्ने सहमति जुटेपनि फाइनल टच दिन आइतबार १ बजे फैरि बैठक बस्ने कांग्रेसको तयारी छ । 

गगन थापाले राख्दै आएको चुनावी गठबन्धनको सेटलमेन्ट चलाखीपूर्वक गर्न खोजिएको देखिन्छ भने गगनले पनि पराजय भोगेको आभास नहुने गरि गृहकार्य गर्न खोजेको स्थिति छ । उसोतः गगनको प्रस्ताव परिमार्जनसहित पेश हुने दाबी समेत गरिन्छ । 

विश्वप्रकाशकको प्रतिवेदन यथावत

विश्वप्रकाशले एक्जिट पोलिसीलाई प्रमुख विषय बनाएपछि त्यो देउवाविरुद्धको षडयन्त्र नै ठानेको संस्थापन पक्षले अघि बढाउन कुनै सकारात्मक सन्देश नै नदिएको बताइन्छ । 

यस्तोमा विश्वप्रकाशले गरेको प्रस्ताव तत्काललाई यथावत रहने र कुनै निर्णय प्रक्रियामा नजाने सम्भावना बलियो बन्दै गएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update