काठमाडौँ । नेकपा माओवादी केन्द्रभित्रको आन्तरिक विवाद मत्थर भयो भन्ने सन्देश दिन पार्टी अध्यक्ष प्रचण्डलाई हम्मेहम्मे हुन थालेको छ । जनार्दन शर्माले लिखित रुपमै असन्तुष्टी राखेपछि उठेका प्रश्नको जवाफ दिन माओवादी केन्द्र र प्रचण्डले ठूलो शक्ति नै खर्चिनुपर्ने स्थिति आइलागेको छ ।
माओवादी केन्द्रमा सर्वशक्तिमान प्रचण्ड पार्टी उपमहासचिव जनार्दन शर्माको लिखित प्रतिवेदनले अहिले पनि तनावमा छन् । जनार्दनले पार्टी फुटाउन लागेको भन्दै चलिरहेको विषयलाई कसरी साम्य पार्ने ? प्रचण्डले स्पष्टीकरण दिँदा दिदै थाकिसकेका छन् । जनार्दनलाई सँगै राखेर समेत पार्टी नफुट्ने दाबी प्रचण्डले गरिरहेका छन् । तर, उनकै पार्टीका नेता कार्यकर्ताले विश्वास गर्न सकेको देखिन्न । यस्तोमा प्रचण्डले जहाँ पुग्छन्, त्यहाँ पार्टी फुट्दैन भन्न छुटाउदैनन् ।
माओवादी केन्द्रको अध्यक्षभन्दा प्रचण्ड नै ठूलो भएको दाबी गर्ने प्रचण्डलाई जनार्दनले खोलेको फायरलाई सम्हाल्न हम्मेहम्मे परिरहेको बेला माओवादी केन्द्रले पार्टीमा जानकारी नभई निर्देशन नै दिने गरि सर्कुलर पठाएको छ । माओवादी केन्द्रले आन्तरिक सर्कुलर जारी गर्दै जनार्दनले पार्टी फुटाउन लागेको भन्ने कुरा झूठो रहेको भन्दै जनार्दनको भनाईलाई नै समावेश गरेको छ ।
‘उपरोक्त सम्बन्धमा मिति २०८१ भदौ २ गते केन्द्रीय कार्यालयबाट जारी गरिएको परिपत्रमा बोल्ड गरिएका विषयहरू थप गरि पुनः परिपत्र गरिएको जानकारी गराइन्छ,’ अध्यक्ष प्रचण्ड र महासचिव देव गुरूङले हस्ताक्षर गरेको परिपत्रमा उल्लेख गरिएको छ । जनार्दनले पार्टी फुटाउने विषयमा प्रष्टीकरण दिन माओवादी केन्द्रले चालेको यो कदमले नै पार्टीमा यो विषयले कस्तो प्रभाव पारेको छ भन्ने विषय प्रष्ट पारिसकेको छ ।
उसो त प्रचण्डले समेत पार्टी नफुट्ने विषयमा प्रष्टीकरण दिने गरेका छन् । पार्टीका आन्तरिक बैठकदेखि सार्वजनिक रुपमा समेत उनले यस्तो प्रष्टिकरण दिइरहेको बेला जनार्दनले माओवादी केन्द्रमा हलचल ल्याएको चर्चा समेत चल्ने गरेको छ । जनार्दनले नै पार्टी फुटाउदैछ भन्ने हल्ला चलाइएको र त्यसमा सत्यता नभएको कुरा प्रष्ट पारिसकेको भन्दै सर्कुलरमा नेता कार्यकर्तालाई पार्टी एकढिक्का रहेको सन्देश दिन ठूलो मेहनत नै गर्नुपरेको स्थिति छ । सम्भवत माओवादी केन्द्रमा प्रचण्डले नेतृत्वको सवालमा अहिलेसम्म ब्यहोरेको ठूलो समस्यामध्ये यो पनि एक हो ।
