News 24 Television
बेरोजगारी बढ्नुमा काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाएका छन् । 

वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाएका हुन् । उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी काँग्रेस र कम्युनिष्टले लिनुपर्ने बताए । उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरुकै कारण भएको बताए। 

उहाँले युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए । उनले मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको दाबी गरे । 

उनले भने, ‘गरिबी र बेरोजगारी यति बढेको छ की आज आफ्नो मुलुकमा पढेलेखेका युवाहरुलाई रोजगारीको लागि कुनै स्थान छैन । साराका सारा युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा प्रत्येक दिन १० हजार युवाहरु बाहिर गइरहेका छन्, कामको खोजिमा । ८ देखि १० वटा शव बाहिरबाट आइरहेका छन् । केही समय पहिला मात्रै दुई तीन हजार मानिस मात्रै बाहिर थिए भने आज ७५ लाख मानिस कामको खोजिमा बाहिरिएका छन् । गाउँमा युवाहरु भेटिँदैनन् । यस्तो नाजुक स्थिति छ । यो स्थिति बनाउने को हो ? को जिम्मेवार छ ? देशमा शासन, सत्ताको नेतृत्व गर्नेहरु नै हुन् । सरकार चलाउने, देशको अर्थतन्त्र चलाउनेहरु नै हुन् । नेपाली काँग्रेस र कम्युनिष्टहरु नै यसका जिम्मेवार हुन् । मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको हो ।’ 

अध्यक्ष यादवले काँग्रेस र कम्युनिष्टका धेरै नेताहरु भ्रष्टाचारमा जोडिएको आरोप लगाए । उनले काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दिएको बताए । भ्रष्टाचार नै काँग्रेस र कम्युनिष्टहरुको राजनीतिक तन्त्र भएको बताए । 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update