काठमाडौँ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक रोचक मोडमा पुगेको छ । पार्टी सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री नबन्न सुझाव दिनेदेखि चुनावी गठबन्धन नगर्ने विषयको रोचक प्रवेश र निर्णय भयो । कांग्रेस बैठकमा नयाँ पुस्ताले गर्न खोजेको यो हस्तक्षेप र पुरानो पुस्ताबीचको लडाई गज्जबको बन्न पुग्यो ।
नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले यो पटक धेरै कुरा सुने । आफूलाई लागे बोलिहाल्ने देउवा वक्ताहरु बोल्दै गर्दा बीचमै रोकेर जवाफ पनि दिइहाल्छन् । यस्तोमा कांग्रेस बैठकले भने महामन्त्री गगन थापाको प्रस्तावलाई पारित गरेको छ । थापाले चुनावी गठबन्धन नगर्ने भन्दै राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । चुनावी गठबन्धनबारे कठोर बनेका देउवाले थापाको प्रस्तावलाई निर्वाचनबाट पराजित गराउनुको सट्टा कांग्रेस एकढिक्का छ भन्ने सन्देश दिन पनि चलाखीपूर्ण कदम चालेका छन् । देउवाले महामन्त्री थापाको प्रस्तावलाई सहज स्वीकार गरेपनि अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावलाई संविधान संशोधनको विषय भन्दै थाँति राखिदिए ।
विश्वप्रकाशको प्रस्ताव यथावत् रहेपनि कांग्रेसभित्र एक्जिट पोलिसीको विषय भने बहसमा तानिएको छ । उसोतः शर्माले बैठकमै देउवालाई अब प्रधानमन्त्री नबन्न सुझाव दिए । शेखर कोइरालादेखि पुर्णबहादुर खड्कासम्ममा पुग्नुपर्ने भन्दै नामै किटेका शर्मालाई देउवाले जवाफ पनि फ्याट्टै दिए । त्याग गर्दिन, प्रधानमन्त्री बन्छु भनिदिए । गगनको प्रस्तावलाई भने रणनीतिक भनिरहेका देउवाले स्वीकार गरिदिएका छन्, भने कांग्रेसले अब एक्लै बहुमत ल्याउने गरि पार्टी निर्माणमा जुट्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
देउवाको ब्रिफिङ र लचकता
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी बैठकमा प्रधानमन्त्री केपी ओलीलाई निकटको मित्रको रुपमा चित्रण गरे । सँगै जेल बसेको प्रसंगबाट ओलीको प्रशंसा गरेका देउवाले सम्बन्ध राम्रो रहेको र विश्वासको वातावरण रहेकाले जथाभावी बोल्न नहुनेमा समेत सचेत गराए । तर, ओलीपछि प्रधानमन्त्री बन्ने विषयमा भने देउवा अडिग देखिए । प्रधानमन्त्रीको कुर्सी ताकिरहेका देउवाले पार्टीलाई एकढिक्का रहेको सन्देश दिन र कार्यकाल सम्हाल्दा सहज स्थिति निर्माणका लागि समेत प्रशस्त छलफल र सहमतिको बाटो अपनाए । यसले गर्दा देउवाले चलाखीपूर्ण रुपमा वेटिङ प्रधानमन्त्रीको रुपमा पार्टीमा राम्रो माहोल बनाउदै लगेका छन् ।
सत्ता सहकार्य र निर्वाचन
प्रमुख प्रतिष्पर्धी दल नेकपा एमालेसँग सत्ता सहयात्रा गरेको कांग्रेसले निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । एक्लै निर्वाचन लड्ने कांग्रेसले सत्ता सहकार्यकै कारण एमालेसँग चुनावी प्रतिष्पर्धा भने जटिल हुने विश्लेषण भइरहेको छ । सत्ता सहकार्य गर्दा गर्दै निर्वाचनमा जानुपर्ने स्थिति र तल्लो तहमा आइपर्नसक्ने विवादलाई समेत केन्द्रमा राख्नुपर्ने चुनौति कांग्रेससामू छ । यस्तोमा कांग्रेसको राजनीतिक कदमले धेरै कुरा निर्क्योल गर्नेछ ।
