
काठमाडौँ । नेकपा माओवादी केन्द्रमा उत्पन्न विभाजन उन्मुख दरार टाल्न पार्टी नेतृत्वलाई सकस परेको देखिन्छ । तल्लो कमिटीसम्मै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको टकराव एवं पार्टी विभाजनको दरार पुगेपछि त्यसलाई साम्य पार्न हेडक्वार्टरले सर्कुलर नै जारी गर्नुपरेको छ । पार्टी विभाजनतर्फ अघि बढेको टिकाटिप्पणी चलिरहेका बेला अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माले पटकपटक सार्वजनिक रुपमा स्पष्टीकरण नै दिएका थिए । माओवादीको स्थायी कमिटी बैठकपछि पार्टी एकताबद्ध रहेको र कुनै विभाजनको प्रयास नभएको भन्ने व्यहोराको सर्कुलर तल्ला कमिटीहरुमा जारी गरेको थियो ।
हालै सम्पन्न स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले पार्टी विभाजनको हल्ला र यथार्थबारे सबै कुरा स्पष्ट पारिसकेकाले अब विभाजनको कुनै सम्भावना नरहेको माओवादीले दाबी गरेको छ । स्थायी कमिटी बैठकपछि मातहतका कमिटीलाई पार्टीले यही व्यहोराको सर्कुलर पठाएको थियो । उक्त सर्कुलरलाई फेरि अध्यावधिक गर्दै माओवादीले पार्टी विभाजन हुँदैछ भनेर बाहिर अनावश्यक चर्चा परिचर्चा चलाइएको भन्दै त्यस हल्लामा सत्यता नरहेको स्पष्ट पारेको छ । पार्टी एकताबद्ध रहेको र रहिरहने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले बैठक समापन गरेको जनाइएको छ ।
स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डकै निकटका मान्छेले आफूविरुद्ध फार्टी फुटाउन लागेको आरोपसहित गलत हल्ला चलाएको लिखित प्रस्ताव नै पेस गरेका थिए । शर्माले प्रचण्डले पार्टीको नेतृत्व छाड्नुपर्ने अडान समेत राखेका थिए । उनले आफू पार्टी फुटाउन लागेको नभई पार्टी बनाउन लागेको दाबी गरेका थिए । भदौ १ गते प्रचण्डकै अगाडि एक कार्यक्रममा शर्माले आफूविरुद्ध फैलाइएको भ्रम प्रचण्डले नै चिर्नुपर्ने पनि बताएका थिए । आफूले अबको २ सय वर्षसम्म नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न प्रचण्डलाई सुझाव दिँदा कसरी उनको विरोधी भएँ ? भनी प्रश्न उठाएका थिए । उनले प्रचण्डलाई अबको भूमिका विचार निर्माणमा र सत्ताको नेतृत्वमा रहनुपर्ने तर पार्टीको नेतृत्व अरुलाई दिनुपर्ने सुझाव दिँदा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको पार्टी फुटाउने आरोप लगाएको भन्दै आक्रोश पोखेका थिए । शर्माले फुटाउन खोजेको भन्ने गलत लागेको आरोप हेडक्वार्टरबाट आएकोले त्यहीमार्फत खण्डन गर्नुपर्ने बताएका थिए ।
भदौ १ गते नै पेरिसडाँडामा आयोजित अर्को कार्यक्रममा प्रचण्डले जनार्दनले पार्टी फुटाउँदैछ भन्ने भ्रम चिरिएको बताएका थिए । शर्माले दिएको चुनौती स्वीकार्दै प्रचण्डले पार्टी विभाजनको हल्ला गलत रहेको सन्देश दिएका थिए । स्थायी कमिटीको बैठकमा शर्माले लिखित रुपमा आफ्नो धारणा राखेको तर त्यो फरक मत नरहेको प्रचण्डको भनाइ थियो । पार्टी फुटाउन खोजेको भन्ने कुरा हेडक्वार्टरबाट नभनिएको पनि उनले स्पष्ट पारे । स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट भएकोले अब यस्ता हल्लाको पछि नलाग्न नेता–कार्यकर्तालाई आग्रह गरेका थिए । आफूलाई केही मानिसले पार्टी फुटाउन लागेको भन्ने हल्ला सुनाएकाले भ्रममा परेको प्रचण्डको स्वीकारोक्ति थियो । उपमहासचिव शर्माले उठाएका केही कुरामा गम्भीर आशंका रहेको पनि उनले बताएका थिए ।
गत फागुनमा एमालेसँग मिलेर प्रचण्डले सरकार चलाएसँगै एमाले–माओवादी पार्टी एकताको हल्ला समेत चलेको थियो । त्यही बेला प्रचण्डले एमालेसँग मिलेमा माओवादीको स्वतन्त्र अस्तित्व जनार्दनले कायम राख्ने समेतका हल्ला चलेका थिए । त्यही बेलादेखि माओवादीमा विभाजनको दरार देखा परेको थियो । तर सरकारमा एमाले–माओवादी सहकार्य धेरै दिन टिकेन र माओवादीलाई एमालेमा भित्र्याउन ओली समेत अनिच्छुक थिए । गत असारमा एमाले–काँग्रेस सहमति भएर नयाँ सरकार गठन भएसँगै प्रचण्ड सत्ताच्युत भए । एमालेबाट धोका पाएपछि प्रचण्ड पार्टीलाई आन्तरिक रुपमा बलियो बनाउनतिर लागेका छन् । तर उनीमाथि नेतृत्व छाड्न जनार्दन र नारायणकाजीहरुको चुनौती भने कायमै छ । माओवादीभित्र निजी स्वार्थ केन्द्रित गुट, उप–गुटजन्य प्रवृत्तिहरू रहेको प्रचण्डले स्वीकारे पनि पार्टी विभाजनतर्फ उन्मुख नरहेकोमा भने ढुक्क देखिएका छन् ।