News 24 Television
पार्टीको सुझाव कार्यान्वयनका लागि एमालेले सरकारलाई दबाब दिने

काठमाडाैँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले पार्टीले बुझाएको ध्यानाकर्षण पत्र कार्यान्वयनका लागि सरकारलाई नै दबाब दिने भएको छ ।

मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा शुुरु भएको पार्टी पोलिटब्युरो बैठकमा महासचिव शंकर पोखरेलले पेश गरेको वार्षिक कार्ययोजनामा सो विषयमा पहलकदमी लिने उल्लेख गरिएको हो ।

महासचिव पोखरेलद्वारा प्रस्तुत वार्षिक कार्ययोजनामा पार्टीले २०८१ साल साउन ४ गते सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र, त्यसपछि झुलाघाट–चिवाभञ्ज्याङका लागि संकल्प यात्राका क्रममा प्राप्त भएका र तत्कालीन सरकारलाई बुझाइएको विषयहरुको कार्यान्वयनमा निरन्तर पहल गर्नका लागि प्राथमिकता दिने कुरालाई विशेष जोड दिइएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्दप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार कार्ययोजनामा कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने, पार्टीको युवा परिचालन नीतिलाई प्रभावकारी रुपमा अघि बढाउने, पार्टी मुख्यालय भवन निर्माणका लागि समिति बनाएर त्यस कामलाई अघि बढाउने, पार्टी कमिटीको नै मूल्यांकन विधिलाई अघि बढाउनेलगायतका एजेण्डाहरु समावेश गरिएको छ ।

सरकारले गरेका राष्ट्रिय हित र जनसरोकारका विषयहरुलाई जनतामा स्थापित हुने गरी लैजाने विषयलाई पनि पार्टीले जोड दिएको प्रचार विभाग प्रमुख गौतमले बताए ।

एमाले पोलिटब्युरो बैठक भदौ १९ गते (भोलि) बिहान ११ बजेका लागि बोलाइएको छ । आज बैठकमा पेश गरिएको महासचिव पोखरेलको वार्षिक कार्ययोजनामाथि छलफल गर्न सो बैठक बोलाइएको पार्टीको प्रचार तथा प्रकाशन विभागले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update