काठमाडौं । प्रधानमन्त्री केपी ओलीको फेसबुक पेजमा अनफलो गर्ने अभियान चलेपछि हजारौंको संख्यामा प्रयोगकर्ताहरु घटे । अनफलोको क्रम नरोकिएपछि यो विषयमा विभिन्न बहस भइरहेका छन् । तर, ओली आफैले सत्यभन्दा ठूलो कुरा केहि नहुने भन्दै सांकेतिक रुपमा अनफलो अभियानबाट कुनै असर नपर्ने जिकिर गरेका छन् ।
एमाले र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ’बालेन’बीचको विवादपछि प्रधानमन्त्री केपी ओलीलाई सामाजिक सञ्जाल फेसबुकमा अनफलो गर्ने अभियान चल्यो ।
सोमबारबाट चलेको अभियानले मंगलबारसम्म आइपुग्दा हजारौं सक्रिय प्रयोगकर्ताहरुले उनलाई अनफलो गरिदिएका छन् । ओलीको फेसबुक पेजमा लाइक गर्नेहरुको संख्या घट्न थालेपछि विभिन्न टिप्पणी पनि चलिरहेको छ ।
तर, ओली आफैले भने केहि समय पहिलेको भिडियो पेजमा राख्दै एकछिनको प्रसंगमा खुशी र एकछिको विरोधमा दुखी हुनुपर्ने कारण नभएको जवाफ दिएका छन् । ओलीले सत्यबाहेक केहिको पनि आयु लामो नहुने समेत जिकिर गरेका छन् ।
ओलीलाई अनफलो गर्ने अभियान चलेपछि उनका विश्वासपात्र समेत रहेका महासचिव शंकर पोकरेलले ओलीको आधिकारिक फेसबुक पेज भन्दै नेता कार्यकर्तालाई लाइक गर्न अघोषित निर्देशन पनि दिए ।
ओलीलाई फलो गर्नेहरुको संख्या घट्न थालेपछि विभिन्न तर्कहरु अघि सारिएका छन् । केहिदिन पहिले टुँडिखेलमा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी गौरा पर्वको कार्यक्रममा समेत विरोध भएको थियो ।
त्यतिबेला देखि नै नयाँ पुस्तासँग रिसाएका ओलीलाई अनफलोले झन तनाव भने थपिदिएको छ ।
के हो विवाद ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ’बालेन’ले एमालेकी प्रदेश सांसद रेखा शर्माले बालिका अपहरण गरेको आरोप सामाजिक सञ्जाल फेसबुकबाट लगाए ।
त्यो आरोपमा मात्रै नअडिएका बालेनले फटाफट पोस्ट राख्दै एमाले र प्रधानमन्त्री ओलीमाथि आक्रोश पोख्न थालेपछि एमाले नेता कार्यकर्ताहरुले उनको पोस्टमा रिपोर्ट गर्दै पोस्ट नै डिलिट गराइदिए ।
पोस्ट डिलिट गराइदिएपछि बालेनले आक्रोश पोख्दै गलत भए आफूलाई पक्रिन र आफू गलत नभए सांसद रेखालाई पक्रिन चुनौति दिए । यस्तो विवादपछि बालेनका समर्थकहरुले ओलीलाई अनफलो गर्ने अभियान नै चलाएका हुन् ।
बालेनले सरकारले पोस्ट डिलिट गराएको आशय व्यक्त गरेका छन भने एमाले नेता कार्यकर्ताहरु बालेन आफैले पोस्ट डिलिट गरेर आक्षेपमा उत्रिएको दाबी गरिरहेका छन् ।
सक्रिय प्रयोगकर्ता गुमाउदै ओली
फेसबुक पेजमा लाइक गरेकाहरुले अनफलो गर्ने ट्रेण्ड केहि समय पहिले पनि चलेको देखिन्छ । केहि मिडिया हाउसका आधिकारिक पेजमा यस्तो अभियान चलेपनि ओलीविरुद्ध यस्तो देखिएको भने पहिलो पटक हो ।
कुनै बेला केपी बा भन्दै आक्रामक फेसबुक प्रयोगकर्ताको सहारा लिने ओली त्यस्तै प्रकृतिको सिकार बनिरहेका छन् ।
जतिले ओलीलाई अनफलो गरिरहेका छन, ती सबै सक्रिय प्रयोगकर्ताहरु हुन् । यस्तोमा ओलीले आफू सत्यबाहेक केहि नगर्ने जिकिर गरेपनि एकखाले निराशा र नेताप्रतिको आक्रोश भने प्रष्ट देखिएको छ ।
सामाजिक अराजकता
नेपाली समाज तत्काल देवत्वकरण र दानवीकरण गर्नेमा उद्दत देखिन्छ । कुनै बेला केपी बा बन्दै सामाजिक सञ्जालबाट आक्रामक पेश हुने समर्थक ओलीका पनि थिए । अझं ओली निकटका केहि नेताहरुले साइबर सेना नामक छुट्टै संगठन नै बनाएका थिए ।
त्यसलाई ओलीले नै खुशी साट्दै दंग पर्थे । यस्तो ट्रेण्डले उनलाई विस्तारै उल्टो दिशातर्फ लैजादै दानवीकरणको सिकार त बनाउदैन भन्ने खतरा बढाइदिएको छ । सामाजिक रुपमा मानिसहरु निराशा, आक्रोश, कुण्ठा पोख्ने गरि अघि बढ्दा समाजमा अराजकता बढेपनि यो स्थिति निर्माण गर्न ओलीको पनि प्रमुख भूमिका भने देखिन्छ ।
राजनीतिक प्रणालीले कस्तो समाज निर्माण गर्ने भन्ने निक्र्यौल गर्ने भएकाले ओली पनि यो कर्मको भागीदार बन्लान ? चासोको विषय यो बनेको छ ।
