काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गरेका छन् । उनले थोरै समयमा सरकारले नेपाली जनतालाई आश्वस्त गर्दै मुलुकमा राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गरेका हुन् ।
बुधवार एमाले मुख्यालय च्यासलमा पार्टी पोलिटब्युरो बैठक समापन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सरकार मुलुकमा विद्यमान अराजकता र अनुशासनहिनताको अन्त्य गर्दै विधिको शासनको पक्षमा दृढतापूर्वक उभिन चाहेको बताए ।
पार्टी अध्यक्ष समेत रहेका ओलीको भनाइ उद्ध्त गर्दै एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले सरकारप्रति नेपाली जनताको विश्वास बढदै गएको बताए । त्यसलाई अझै उचाईमा पुर्याउन सरकार लागिपर्ने प्रधानमन्त्री ओलीकाे भनाइ रहेकाे उनले सुनाए ।
'नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा सहमती गरेर मुलुकको स्थायित्व, स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने जो काम गरेर जनतालाई आश्वास्त गर्ने काम गरेका छौं,' प्रधानमन्त्री ओलीले भने, 'सरकार जनताप्रति विश्वस्त छन् भन्नुभएको छ । अहिले समाजमा भएका जुन खालका अराजकता, अनुशासनहिनता बढिराखेको छ । हामी नागरिक सर्वोच्चता चाहन्छाैँ । विधिको शासन मान्छौं । र लोकतान्त्रिक मूल्यमान्ता अनुसार अगाडि बढ्न चाहन्छाैँ । हामी कुनै पनि खाले निरंकुश, अराजक, अनुशासनहिनतालाई अस्वीकार गर्दछौं । र लोकतन्त्रलाई सुदृढ गर्ने पक्षमा हामी उभिनेछौं ।'
ओलीले मुलुकलाई समृद्ध नेपालः सुखी नेपालीको परिकल्पना अनुसार अघि बढाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा अघि बढाउनुपर्ने आवश्यकता पनि रहेको बताए ।