News 24 Television
वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठन आवश्यक : अग्नि सापकोटा

काठमाडाैँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा नेपालमा समाजवादः चुनौती र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको परिस्थितिमा पुनः एक पटक वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन जरुरी रहेको बताए ।

विगतमा एकता गरेर पनि रक्षा गर्न नसकिएको भन्दै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउन आवश्यक रहेको सापकाेटाकाे भनाइ छ । उनले राष्ट्रियताको सवाल धेरै पेचिलो भएको भएको उल्लेख गर्दै सबै एकतावद्ध अघि बढ्न आवश्यक रहेको बताए । 

सापकाेटाले भने, ‘जनताले विचार खोजेका छैनन् भन्ने खालका भाष्यहरु बनाउन कोशिस गरिएको छ । प्रियतावादीहरुको रुझान बढ्दै गइरहेको छ । यो परिस्थितिमा हामीले फेरि एक पटक वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन जो हामीले हिजो एकता गरेर पनि रक्षा गर्न सकेनौँ, सबैलाई विशेष रुपमा नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षको हैसियतले जोडदार रुपमा के अपिल गर्दछु भने अब हामीले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउनका लागि मुख्यतः हामीले राष्ट्रियताको सवाल असाध्यै धेरै पेचिलो भएको छ र हामीले भन्नुपर्छ, सबै एकतावद्ध भएर नेपाल नेपालीहरुको हो । नेपाल नेपालीहरुले चलाउनुपर्छ । हामी कसैको हैकम मान्नेवाला छैनौँ । हामी विश्वशान्तिको पक्षमा दृढतापूर्वक खडा हुनेछौँ भनेर राष्ट्रियताको सवालमा हामीले भन्नुपर्नेछ ।’

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update